
काठमाडौं । पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिन लागेको छ । हबिबले हिमालयन बैंकमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर एकमुस्ट बेच्न लागेको हो ।
हबिबले संस्थापक सेयरको मूल्य प्रतिकित्ता ११२.८० रुपैयाँ तोकेको छ । प्रस्तावित मूल्यलाई आधार मान्दा एकमुस्ट सेयरको रकम तीन अर्ब १३ करोड ७३ लाख रुपैयाँ हुन आउँछ ।
हबिबले पहिलो प्राथमिकता हिमालयनका संस्थापक सेयरधनीलाई दिनेछ । हाल कायम रहेका संस्थापकलाई ३५ दिनभित्र प्रस्ताव पेस गर्न हिमालयनले भनेको छ । हिमालयनमा हबिबको १२.९३ प्रतिशत संस्थापक सेयर छ ।
हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर ०७६ सालमा नै बेच्ने प्रयास गरेको थियो । बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सीडीसी)ले सेयर खरिद गर्ने पक्का भएको थियो । बैंकका सञ्चालकबाट विरोध भएपछि त्यति बेला सफल भएको थिएन । कर्मचारी सञ्चय कोषले संस्थापक सेयर किन्ने बताए पनि पाएन ।
हिमालयनले सिभिल बैंकलाई आफूमा समाहित (मर्जर) गरेपछि वित्तीय अवस्था कमजोर देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुल ५० करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको यही समयमा एक अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंकको वितरणयोग्य नाफा सात करोड ८० लाख रुपैयाँ मात्र छ ।
हाल हिमालयन बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । सिभिलसँग मर्जरअघि हिमालयनमा हबिबको २० प्रतिशत स्वामित्व थियो । हाल त्यो घटेर १२.९६ प्रतिशत स्वामित्व छ ।
हिमालयनमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी छ । कोषको १४ प्रतिशत स्वामित्व छ । कोषको १४ प्रतिशत स्वामित्व भएका कारण हबिबको सेयर किन्न सञ्चय कोषले पाएको थिएन ।
हिमालयनमा हिमालयनशमशेर जबरा, भीम पाँडे, पृथ्वी पाँडे, नरसिंहबहादुर श्रेष्ठ र आन्नदभक्त राजभण्डारीको धेरै सेयर छ ।
यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७१, खेतान ग्रुपको म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५, आभा इन्टरनेसनलको ११.३८, छाया इन्टरनेसनलको ८.८९ र उद्योगपति शशिकान्त अग्रवालको २.६५ प्रतिशत स्वामित्व छ ।