
काठमाडौं । ‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’का लागि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’का लागि सात लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी मंगलबार नाफिज र अग्रवालबीच समझदारी भएको हो ।
समझदारी पत्रमा नाफिजकी अध्यक्ष मेनुका कार्की र परिसंघका अध्यक्ष अग्रवालले हस्ताक्षर गरे ।
गत २९ मंसिरमा सम्पन्न नाफिजको १५औँ वार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले आफ्नो स्वर्गीय पिता श्रवणकुमार अग्रवालको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
गत साउनमा निधन भएका श्रवणकुमार अग्रवाल आरएमसी ग्रुपका संस्थापक हुन् । मारबाडी सेवा समितिका पूर्वअध्यक्षसमेत रहेको श्रवणकुमार अग्रवाल संविधानसभा सदस्यसमेत हुन् । उनको स्मृतिमा छोरा राजेशकुमार अग्रवालले अक्षयकोष स्थापना गर्ने घोषणा गरेपछि थप आवश्यक प्रक्रिया पूरा गरेर मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । फेलोसिप दिने गरी नाफिजमा स्थापना हुन लागेको यो नै पहिलो अक्षयकोष हो ।
समझदारीअनुसार, अध्यक्ष अग्रवालले व्यक्तिगतरूपमा अक्षयकोषमा सात लाख रुपैयाँ जम्मा गर्नेछन् । नाफिजले त्यस अक्षय कोषबाट वार्षिकरूपमा एकजना आर्थिक पत्रकारलाई ५० हजार रुपैयाँ बराबरको फेलोसिप प्रदान गर्नेछ ।
खोजमूलक आर्थिक समाचार लेखनका लागि फेलोसिप प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ । फेलोसिप प्राप्त गर्ने पत्रकारलाई नाफिजले मेन्टर उपलब्ध गराउनेछ ।
‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ प्रदान गर्न तीन जनाको छनोट समिति गठन गरिने नाफिजकी अध्यक्ष मेनुका कार्कीले बताइन् । सोही समितिले फेलोसिप प्रदानका लागि थप काम कारबाही अघि बढाउनेछ । अब आवश्यक प्रक्रिया पूरा गरेर आगामी आर्थिक वर्ष २०८२/८३ देखि यसलाई कार्यान्वयनमा लैजाने अध्यक्ष कार्कीले बताइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले यस कदमले आर्थिक पत्रकारलाई थप प्रोत्साहन मिल्ने बताए ।