
काठमाडौं । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको छ । उद्धारकर्ताले बिहीबार अपराह्नसम्म ३०–३५ जनाको शव निकालिएको बताएको रोयटर्सले जनाएको छ । अधिकारीहरूले मृतकको संख्या अझै बढ्ने बताएका छन् ।
घटनास्थलमा रहेका एकजना उच्च प्रहरी अधिकारीले अहिलेसम्म ८० प्रतिशत क्षेत्रफल क्लियर गरिसकेको बताएको समाचारमा उल्लेख छ ।
बिहीबार (जुन १२) दिउँसो लन्डनका लागि उडेको एयर इन्डियाको विमानमा कुल २४२ जना सवार थिए ।
एयर इन्डियाका अनुसार, दुर्घटनाग्रस्त बोइङ ७८७–८ विमानमा १६९ भारतीय, ५३ बेलायती, एक क्यानेडियन र सात पोर्चुगलका नागरिक सवार थिए । विमानमा २३० वयस्क यात्री, दुई शिशु र चालक दलका १० सदस्य थिए ।
विमान अहमदाबादबाट बेलायतको लन्डन गेटविक विमानस्थलका निम्ति उडेको थियो । स्थानीय समयानुसार दिउँसो १ बजेर ३८ मिनेटमा विमान अहमदाबादबाट उडेको थियो । त्यसको पाँच मिनेटपछि विमान दुर्घटना भएको भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज किदवाईले बीबीसी हिन्दीलाई बताएका छन् ।