
काठमाडौं । सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहीबार (जेठ २९) बिहान मध्यमदेखि भारी वर्षा भएको छ । डोटीमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढी आउन सक्छ । कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै विभागले आज दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले बिहीबार बिहान साढे ८ बजे जारी गरेको सूचनामा उल्लेख छ, “जेठ २९, बिहान ८ः३० बजे । पछिल्लो एक–तीन घण्टामा डोटीको पश्चिम सेती, दिपायल डोटी र डडेलधुराको साहुखर्क वर्षामापन केन्द्रहरू र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको, सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बाढी समेत हुन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले दिउँसोसम्मै आवश्यक सतर्कता अपनाइराखौँ ।”