
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यक्रममा अध्यक्ष पंकज नेम्वाङसहित एन्फाको टिमले एनएसजेएफका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मानपत्र र खादा ओढाएर बधाई तथा शुभकामना दिएको थियो ।
त्यस क्रममा एन्फाका अध्यक्ष नेम्वाङले पूर्वकार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको दशौँ स्मृति दिवसमा भेटघाट कार्यक्रम राखिएको जानकारी दिए । “ललित दाइ हुँदाको समयमा एन्फा र नेपाल खेलकुद पत्रकार मञ्चबीच सुनौलो सम्बन्ध थियो, त्यसैले यी दुई संस्थाबीच त्यत्तिकै सुनौलो, सुमधुर सम्बन्ध बनाउनुपर्छ भन्ने सोचाइसहित आजको दिन यो कार्यक्रम राखिएको हो । नेपाल खेलकुद पत्रकार मञ्चको स्थापना भएपछि नेपाल फुटबलको विकासको क्रम ठूलो टेवा पुगेको र यी दुई संस्था मिलेर अझ धेरै राम्रो काम गर्न बाँकी छ,”अध्यक्ष नेम्वाङले भने ।
एन्फाका पूर्वकार्यवाहक अध्यक्ष तथा थ्रीस्टार क्लबका पूर्वअध्यक्ष श्रेष्ठको बिहीबार दशौँ स्मृति दिवस परेको थियो । एन्फा मुख्यालयमा बिहीबार बिहान श्रेष्ठको दशौँ स्मृत दिवसमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको थियो ।
खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष निरञ्जन अधिकारीले मञ्चले नेपाल फुटबलको हरेक राम्रो पक्षमा साथ दिइरहेको बताए । उनले रचनात्मक आलोचना गर्न पनि नछोडेको बताए ।
एन्फाका महासचिव किरण राईले महिला फुटबलले लगातार राम्रो गरेपछि नेपालका प्रत्येक अभिभावकले आफ्ना छोरीहरूले प्रिति राई र सावित्रा भण्डारीले जस्तो खेलोस् भन्ने सपना देख्न थालेको बताए ।
एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले नेपालमा रहेका खेलकुद संघमध्ये एन्फामा खेल पत्रकारको अझ बढी लगाव र चासो हुने बताए ।
एन्फा उपाध्यक्ष दीपक खतिवडाले खेल पत्रकारबिना नेपाली खेलकुद अगाडि बढ्न नसक्ने र खेल पत्रकारले फुटबललाई अझ बढी माया गरेको आफूले महसुस गरेको बताए ।