
काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)को झोलामा राष्ट्रवाद रहेको बताएका छन् । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीको प्रश्नमा एमालेको उपमहासचिवसमेत रहेका गुरुङले आफूहरू जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताए ।
"झोल खानेलाई पनि झोले भन्छ, झोला बोक्नेलाई पनि झोले भन्छ । हामीले झोल खाने झोले भनेको होइन । हाम्रो अहिलेको प्रधानमन्त्री जो एमालेको अध्यक्ष पनि हुनुहुन्छ, उहाँले भन्न खोज्नुभएको झोले भनेको हामी पार्टीको झोला बोक्ने, जुन पार्टीमा झोला बोकर काम गरेका छौँ, नीति सिद्धान्त, झन्डा पनि हो । एमालेको झोले हुन किन म तयार छु भने एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त बोकेको छ," उनले भने ।
एमालेले सामाजिक र आर्थिक रूपान्तरणका लागि एमालेले सुशासनको झोला बोकिरहेको उनको भनाइ छ । "एमालेको राष्ट्रियता, कूटनीति, प्रजातन्त्र लोकतन्त्रप्रतिको सिद्धान्त वा अहिलेको गुड गभर्नेन्स कसरी चलाउने, गुड गभर्नेन्स नभइकन सामाजिक आर्थिक रूपान्तरण हुँदैन, समाजवादको आधार तयार हुँदैन । हाम्रो दर्शन, फिलोसोफी, सिद्धान्त, राजनीति बोकेर जसले हिँड्छ, त्यो एमालेको झोला बोक्ने मान्छे हो भनेको हो," उनले प्रस्ट पारे ।
न्युज एजेन्सी नेपालबाट ।