site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गणेश रसिकलाई सर्जकहरूले सम्झिए

काठमाडौं । वासु शशी स्मृति परिषद्ले संस्थाका अध्यक्षसमेत रहेका चर्चित गायक, संगीतकार, साहित्यकार गणेश रसिकको निधनप्रति शोक मनाउँदै श्रद्धाञ्जली सभाको आयोजना गर्‍यो । 

निधन भएको १० दिनको तिथि पारेर मंगलबार अनामनगरमा आयोजित कार्यक्रममा रसिकप्रति एक मिनेट मौन धारण गर्दै उनको सांगीतिक, साहित्यिक र प्रशासनिक योगदानको चर्चा गरियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा संगीतकार तथा लेखक बुलु मुकारुङले रसिकसँग आफ्नो पारिवारिक नाता भएको बताउँदै आफ्नो जीवनको सांगीतिक मोडमा रसिककै हात रहेको बताए । 

रसिकका पूर्वजहरूको चर्चा गर्दै मुकारुङले उनले भोगेको पीडादायी समय, मुलुकको प्रशासनिक, साहित्यिक र सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे । बुलुले रसिक रत्न रेकर्डिङ संस्थानमा अध्यक्ष तथा महाप्रबन्धक हुँदा भएगरेका कामबारे बताए । 

गायिका लोचन भट्टराईले आफूले रसिकको संगीतमा पनि गीत गाएको प्रसंग उठाउँदै उनको सबैसँग मिल्ने व्यवहारको चर्चा गरिन् । उनले एउटा गीत गुनगुनाएर सुनाइन् ।

कार्यक्रममा ठाकुर बेलवासे, रचना सिंह र दिलीप श्रेष्ठले कविता वाचन गर्दै श्रद्धासुमन अर्पण गरे । 

कार्यक्रममा परिषद्का उपाध्यक्ष साहित्यकार हिरण्यकुमारी पाठक, राधेश्याम लेकाली, प्रद्युम्न जोशी, यादव भट्टराई लगायतले गणेश रसिकसँगका स्मृतिहरू साझा गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्