(1).jpeg)
धनगढी । धनगढी रंगशालामा शुक्रबारबाट सुरु भएको सर्वाधिक धनराशीको नेपाल आईस खप्तड गोल्डकपको तीन खेल सकिएको छ । आइतबारसम्म भएका तीन खेल मध्ये दुई टोलीले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा एक टोलीले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
मोफसलकै सर्वा्धिक पुरस्कार राशीको खप्तड गोल्डकपका तीन खेल सकिदा केहि रोचक घटनाहरु भएका छन् । सयोग मान्नुपर्छ, खप्तड गोल्डकप अन्तर्गत भएका तीनै खेलको नतिजा एउटै प्रकृतिको आएको छ ।
प्रतियोगिताको तीनवटै खेलको पहिलो हाफमा पाएको पेनाल्टीमा कुनै पनि टोलीले गोल गर्न सकेको छैन । पहिलो हाफमा पेनाल्टी पाउने तीन वटै टोलिले खेलमा पराजय बेहोरेको छ । यस्तै तीनै खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको छ । पेनाल्टी सुटआउटमा सबै खेलको नतिजा ५ – ४ गोलको आएको छ । तीन वटै खेलमा म्यान अफ दि म्याच गोलरक्षक बनेका छन् ।
तीन दिनमा भएका तीन वटै खेलको नतिजा एकै किसिमको देखिएपछि फुटबल समर्थकहरु अचम्मित भएका छन । तर, यो घटनालाई अचम्म भन्दा पनि मैदान र मौसमको कारण घटेको सयोग मात्र रहेको प्रशिक्षकहरुको भनाई छ । कैलालीका फुटबल प्रशिक्षक यज्ञ श्रेष्ठले मैदानको कारण खेलाडीलाई खेल्न समस्या भएको कारण यो नतिजा आएको बताउछन् । उनले भने, “खेलाडीहरुले मैदानमा खेल्न दबाब मानिरहेको छ । जसको कारण नतिजाले अचम्म पारिरहेको छ, स्कोर हुन सकेको छैन । मलाई लाग्छ, खेलाडीहरु मैदानमा सहज रुपमा खेल्न नसकेको र उनीहरुले दबाबमा खेलेको कारण यो नतिजा आएको हो ।”
प्रतियोगिताको उद्घाटन खेलमा १–१ गोलको बराबरी हुनुबाहेक अहिलेसम्म कुनैपनि टोलीका खेलाडीले गोल गर्न सकेका छैनन् । जसको कारण तीन वटै खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको छ । पेनाल्टी नतिजा सबै खेलको समान रहेको छ ।
उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा आयोजकले च्यासललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्यो । त्यसअघि च्यासलले खेलको पहिलो हाफमा पेनाल्टी पाएको थियो तर च्यासलका विदेशी खेलाडी सेगुनले पेनाल्टीमा गोल गर्न सकेनन् । दोस्रो हाफमा सेगुनले नै गोल गर्दै च्यासललाई अग्रता दिलाए । तर, त्यसको १५ मिनेट नबित्दै सुदुरपश्चिमका विनोद केसीले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धा्रित समय बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा आयोजक सुदूरपश्चिम ५–४ ले विजय हुँदै सेमिफाईन पुग्यो । पेनाल्टीमा म्यान अफ दि म्याच बनेका सुदुरपश्चिमका गोलरक्षक जीवन भट्टराईले च्यासलका पेनाल्टी प्रहार रोकेका थिए ।
प्रतियोगिताको दोस्रो दिन शनिवारको नतिजा पनि उस्तै रह्यो । विभागीय टोलि सशत्र प्रहरीको एपिएफ क्लबले पोखराको साहारा क्लबलाई पेनाल्टी सुटाउटमा सुटआउटमा ५–४ ले पाखा लगायो । निर्धा्रित समय गोलरहित बराबरीमा सकिएको खेलको पहिलो हाफमा साहाराले पेनाल्टी पाएको थियो । तर, साहाराका विनोद गुरुङले प्रहार गोलमा परिणत हुन् सकेन । त्यसपछि भएको पेनाल्टी सुटआउटमा एपीएफले साहारालाई ५–४ ले हरायो । पेनाल्टीमा म्यान अफ दि म्याच बनेका एपिएफका गोलरक्षक राजु नगरकोटीले साहाराका एक खेलाडीको प्रहार बचाएका थिए ।
तर, विभागीय टोलि एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले मौसमका कारण खेलाडीहरुलाई खेल्न समस्या भईरहेको कारणले नतिजा अस्वाभाविक आएको बताउछन् । प्रशिक्षक महर्जन भन्छन् , “यो मैदानमा धरै खेलाडीले पुर्ण रुपमा तयारी गर्न सकेको छैन । यहाँको मौषम काठमाण्डौभन्दा चिसो छ । जसले खेलाडीहरुलाई खेल्न अप्ठेरो पारिरहेको छ ।“
यस्तै प्रतियोगिताको तेस्रो दिन आइतबार पनि अघिल्ला दिनकै झैँ नतिजा आयो । पहिलो संस्करणको उपविजेता वनेको सिएमजी संकटाले पेनाल्टी सुटआउटमा धरान फुटबल क्लबलाई ५–४ कै नतिजामा हराएर क्वाटरफाईनलमा स्थान वनायो । सयोग, यस खेलमा पनि धरानले पहिलो हाफमा पेनाल्टीमा गोल गर्ने मौका पाएको थियो । तर, धरानले पनि त्यसलाई गोलमा परिणत गर्न सकेन् । धरानका प्रकाश बुढाथोकीको पेनाल्टी प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले वचाए ।
त्यसपछि खेल गोलरहित बराबरीमा सकिदा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा संकटाले धरानलाई ५ – ४ ले नै हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्यो । पेनाल्टी सुटआउटमा पनि संकटाका गोलरक्षक विनय श्रेष्ठ नायक बने । म्यान अफ दि म्याच बनेका उनले धरानका संयम राई र रोशन खड्काको पेनाल्टी प्रहार बचाएका थिए ।
अघिल्ला दुई खेलको र आफ्नो टोलिको खेलको नतिजा एकै आएपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरुले राम्रो तयारी गर्न नसकेका कारण स्कोरमा समस्या आईरहेकोले नतिजा एउटै भएको बताए । “सबै टोलिले तयारी राम्रो गरेको छैनन् । खेलाडीहरु जम्मा गरेर ल्याउनुपर्ने अवस्था छ, प्रशिक्षक खड्कीले भने, “नयाँ ठाउँमा खेलाडीहरुलाई असहजता भईरहेको छ । पेनाल्टी प्रहार गर्नका लागि पनि असहज देखिएको छ । यो सबै हुनु उनीहरुको पर्याप्त तयारी नभएर हो ।”