
पोखरा । ७५ वर्षअघि अन्नपूर्ण हिमालमा पहिलोपटक मानव उपस्थिति जनाएका फ्रान्सेली नागरिक मौरिस हर्जोग अहिले दुनियाँमा छैनन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । आठ हजार ९१ मिटर अग्लो हिमाल चढ्दाताका मौरिसका संघर्ष पनि कम थिएनन् ।
हालै उनले पहिलोपटक हिमाल चढेको ७५ वर्षलाई हिरक महोत्सवको रूपमा मनाइएको छ । उनले ३१ वर्षको उमेरमा अन्नपूर्ण आरोहण गरेका थिए । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको थियो ।
त्यतिबेलाको हिमाल आरोहणको सफलतालाई फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । अन्नपूर्णको सफल आरोहण भएकै दिनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाउने गरिँदै आएको छ ।
अन्नपूर्णको सफल आरोहण गरेपछि हर्जोगले बाँकी जीवन भने थप पीडामा बिताउनु पर्यो । आरोहणको क्रममा उनको दुवै हात र दुवै खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले हिमालबाटै बोकेर आधार शिविर झारेका थिए । फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा निधन भएको थियो ।
नेपालका तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई पत्र पठाएर निमन्त्रणा गरेका थिए । आरोहणपछि तत्कालीन सरकारले काठमाडौंमा समारोह आयोजना गरेर हर्गोजलाई गोरखा क्रस पदक प्रदान गरी सम्मान गरेको थियो । हर्जोगले प्राप्त गरेको पदक नेपाल सरकारबाट विदेशी नागरिकले प्राप्त गरेको उच्च तहको सम्मान हो ।
हिमाल चढेर विश्व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उनलाई झन्डै एक दशकसम्म खेलकुदमन्त्री, सांसद र समोनी सहरको मेयर बनेका थिए । हर्जोगको टोली अन्नपूर्ण चढ्न २५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको थियो ।
उनै हर्जाेगले अन्नपूर्ण हिमाल आरोहण गरेपछि ७५ वर्षगाँठ धुमधामले मनाइएको छ । हर्जाेगको टिमले सफल आरोहण गरेपछि उनका छोरा, नाति र सांगीतिक टोलीले म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्णको प्रथमको आधारशिविरमा पुगेर विविध कार्यक्रम गरी ७५ वर्षअघिको सम्झनालाई ताजा बनाएका छन् ।
साथै, बिहीबार उक्त टोलीले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा त्यसबेला हर्जाेगले प्रयोग गरेको आइस एक्स (हिम बञ्चरो) प्रदान गर्नुकासाथै उनै हर्जाेगका टोलीकोे शालिक समेत अनावरण गरिएको छ ।
आठ हजार मिटरभन्दा अग्लो हिमालको पहिलो सफल आरोहणले विश्वभर नेपाललाई हिमालको देशको रूपमा चिनाएको थियो ।
तर, पछिल्लोसमय जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा पनि परेको र यसले हिमाली क्षेत्रमा मात्रै नभइकन समग्र विश्वको जलवायुलाई नै असर पारेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बताए ।
मौरिस हर्जाेगको टोलीले बिनाअक्सिजन आठ हजार मिटरको आरोहण पूरा गर्दा, त्यो साहस, संकल्प र मानवीय क्षमताको चरम उदाहरण बनेको थियो । हिमालहरू मात्र होइन, यस्ता कथाहरूले नै नेपाललाई विश्वको नक्शामा उच्च बनाएको छ ।
सफल आरोहण गरेका फ्रान्सेली नागरिकहरू र नेपाली टोलीको प्रशंसा गर्दै यस्तो ऐतिहासिक कार्यले नेपाल र फ्रान्सको सम्बन्ध थप प्रगाढ भएको नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले बताइन् ।
अन्नपूर्णको त्यो पहिलो विजयले जुन झिल्को देखायो, त्यो आज पनि विश्व पर्वतारोहणका लागि प्रेरणाको शिखर बनेको छ ।
गण्डकीका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले नेपाललाई अगाडि बढाउनका लागि पर्यटनभित्र पनि पर्वतीय पर्यटनको ठूलो महत्त्व रहेको र यसलाई नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ समेटिएको जानकारी दिए ।