
विराटनगर । उच्च अदालत विराटनगर पुगेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दाको पेसी चौथोपटक पनि स्थगित भएको छ । बिहीबार न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासमा चढेको पेसी प्रतिवादीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगन भएको हो ।
यस मुद्दामा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि जोडिएकी छन् ।
यसअघि, उच्च अदालतका कार्यवाहक मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासमा दुईपटक पेसी चढेर स्थागन भएको थियो ।
सरकारी वकिलको कार्यालयले मोरङ जिल्ला अदालतको आदेशविरुद्ध अञ्जलासहित ६ जना प्रतिवादीलाई थुनामा राखेर आदेश गरिनुपर्ने माग राख्दै ७३ नम्बरको निवेदन दिएको छ । वैशाख ११ गते उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको राय बाझिएको थियो ।
अञ्जलासहित ६ प्रतिवादीको हकमा दुई न्यायाधीशबीच थुनामा पठाउने कि नपठाउने सम्बन्धमा नभएर धरौटी रकम बढाउने कि नबढाउने विषयमा मात्र राय बाझिएको हो । त्यसपछि तेस्रो न्यायाधीशको इजलासमा पेसी चढेको थियो । तर, पेसी चढेपछि प्रतिवादीका कानुन व्यवसायीले हटाउँदै आएका छन् ।
गत मंसिर २७ गते रकम हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको थियो । पुस ३ गते २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भयो ।
सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य धरौटीमा छुटेका छन् । एक दर्जनभन्दा बढी अभियुक्त फरार छन् ।