site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले स्पष्ट बहुमत ल्याउनु नै मिसन ०८४ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने दाबी गरेका छन् । शनिबार (जेठ १७) काठमाडौंमा नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।

‘मिसन ०८४’ एउटा कार्यनीतिक सिँढी भएको उनले उल्लेख गरे । एमालेको स्पष्ट बहुमत आउनु नै मिसन ०८४ भएको उनले बताए । ०८४ साल आफैँ आउने तर मिसन ०८४ एमालेले बनाउनुपर्ने उनको भनाइ थियो ।

Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीले विगतमा पनि एमालेमाथि आक्रमण भइरहेको र त्यो क्रम अझै जारी रहेको बताए ।

बुद्धिजीवी परिषद्को महाधिवेशनमा प्रधानमन्त्री ओलीको भनाइ पढ्नोस्–
पार्टीलाई एकताबद्ध बनाएर लैजाऊँ, सही विचारमा पार्टीलाई लैजाऊँ र एउटा आन्दोलन, सुदृढ आन्दोलन त्यस रूपमा विकास गरौँ । हामीले अत्यन्तै विकट अवस्थाहरू पार गरेका छौँ । देशभित्र र बाहिरका अनेकथरी वैचारिक, व्यावहारिक, स्वार्थको टक्कर भएकाहरू, आफ्ना स्वार्थका लागि क्रियाशील हुनेहरू अनेक शक्तिहरू सक्रिय भए र मोर्चाबन्दी गरेर नेकपा (एमाले)का विरुद्ध आए । प्रगतिशील विचारका विरुद्ध आए । अग्रगामी सामाजिक परिवर्तनका विरुद्ध आए । सुदृढ एकताबद्ध त्यस्तो पार्टीको विरुद्ध आए । हामीले पार्टी विस्तार गरेर एकता गरेर, अनेक हिसाबले पार्टीलाई झन्डै दुईतिहाइकै ठाउँमा पुर्‍यायौँ । आजको दुनियाँमा कम्युनिस्ट सिध्याउँछौँ भनेर पुँजीवादीहरू लागेका बेला नेपालमा हामीले अनेक ढंगले शक्तिलाई सुदृढ गर्दै दुईतिहाइको स्ट्यान्थ बनायौँ । साराको टाउको दुख्नु ठिकै हो, विरोधीहरूको टाउको दुख्नु, निद्रा हराउनु, भोक हराउनु, छटपटी हुनु विरोधीहरूका लागि ठिकै हो । तर, आन्दोलनभित्रैबाट यस्ता तत्त्व निस्किए – जसले आन्दोलनभित्रैबाट आन्तरिक गडबडी र हमला सुरु गरे । पार्टी फुटाइन्जेलसम्म पार्टीका भलाइ र हितका कुरा गरे । पार्टीका हितका लागि वितण्डा खडा गरेका हौँ भने । पार्टी फुटाएका दिन घोषणा गरे हाम्रो उद्देश्य भनेको एमालेलाई धुलो बनाउने हो र एमालेको अस्तित्व देशबाट मेटाउने हो । उनीहरूले खुलस्त नारा दिए– केपी ओलीबिनाको एमाले । त्यसकारण मलाई एमालेको साधारण सदस्यबाट मात्र हैन, भविष्यमा पनि कम्युनिस्ट हुँ भन्न नपाउने गरी निष्कासन गरे । एमालेजस्तो प्रगतिशील पार्टीलाई सिध्याउँछौँ, दिउँसै टर्च बालेर खोज्दा पनि नभेटाउने बनाइदिन्छौँ भनेर उद्घोष गरे । यी सबै कुरालाई पराजित गरेर नेकपा (एमाले) फेरि देशको सबैभन्दा लोकप्रिय पार्टीमा आयो । दुनियाँभरको मोर्चाबन्दी, घेराबन्दीलाई पराजित गरेर नेकपा (एमाले) जनताको पवित्र मनले गरेको मतदानबाट सर्वाधिक लोकप्रिय पार्टीको रूपमा आउन सक्यो । अब यति बेला हामीलाई बहुमत ल्याउनबाट रोक्न सक्ने कुनै ताकत छैन । यदि, हामी ठिक ढंगले अगाडि बढ्यौँ, एकताबद्ध ढंगले अगाडि बढ्यौँ, व्यक्तिगत महत्त्वाकांक्षा, इगो, अहंकार या व्यक्तिगत रूपमा नअल्झिएर नभई देशलाई केन्द्र भागमा राखेर राष्ट्रिय हितलाई, परिवर्तनको उद्देश्यलाई, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र हाम्रो गन्तव्यलाई केन्द्र भागमा राखेर अघि बढ्यौँ भने हामीलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन । किनभने, हामी त्यस्तो घेराबन्दीमा पार्टी दुई/दुईपटक फुटेका बेला, ध्वस्त बनाउँछौँ भनेका बेला, एमालेलाई खोज्दा नभेटिने बनाइदिन्छु, भित्तामा लगेर टाँसिदिन्छु आदि इत्यादि भन्न नसक्ने अब कसैको दम रहेन । हामीले उनीहरूको धनुको ताँदो चुडाइदिएका छौँ । त्यसैले आज हामी ठूला सफलताका साथ अघि जान सक्छौँ । त्यसैकारण पार्टीले मिसन ८४ भनेको छ । मिसन ८४ एउटा कार्यनीतिक सिँढी हो, जसबाट हामी अझै स्पष्ट बहुमतमा जान्छौँ । एमालेको स्पष्ट बहुमत ल्याउनु नै मिसन ८४ हो । २०८४ साल त आफैँ आइहाल्छ नि, हामीले ल्याउनु पर्दैन ! मिसन ८४ ले नेकपा (एमाले)को एकल बहुमत ल्याउने गरी लागौँ भनेको हो । एमालेका लागि कार्यनीतिक एउटा पढाव, कार्यनीतिक विशाल मोड मिसन ८४ हो । ८४ साललाई हामी चुनावमा नेकपा (एमाले)को एकल बहुमत ल्याउन चाहन्छौँ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्