
काठमाडौं । बागलुङको म्याग्दी खोला सतर्कता तह पार भएको छ । शनिबार (असार १४) राति मंगलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीतटीय र होचा भूभागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “असार १४ राति ११ः२५ बजे । बागलुङ जिल्लास्थित म्याग्दी खोला, मंगलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
मध्यम वर्षा
उता, कैलालीको धनगढीमा ‘मध्यम’ वर्षा भएको छ ।
“असार १५, बिहान ४ः५५ बजे । पछिल्लो एक घण्टामा कैलाली जिल्लास्थित धनगढी एयरपोर्ट वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकोले सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागले भनेको छ ।
सिन्धुपाल्चोकमा पनि मध्यम वर्षा मापन गरिएको छ । गोब्रे, मानेखार्कमा मध्यम वर्षा भएको विभागले जनाएको छ ।
“असार १४ राति ११ः४५ बजे । पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोक जिल्लास्थित गोब्रे, मानेखार्क वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना रहेकोले सिन्धुपाल्चोक जिल्ला भई बहने स–साना खोलाहरूमा बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।
गए राति काठमाडौंसहित धेरै स्थानमा वर्षा भएको छ । मौसमविद्ले आइतबार (असार १५) र सोमबार (असार १६) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा ‘धेरै भारी’ वर्षाको सम्भावना औँल्याएका छन् । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।
- मौसमविद्को सुझाव– आइतबार बेलुका र सोमबार सकभर यात्रा नगर्नुहोला
- यी १२ जिल्लामा ‘धेरै भारी’ वर्षाको चेतावनी