
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेको टिप्पणी गरेका छन् । शनिबार (जेठ १७) काठमाडौंमा नेपाल बुद्धिजीवी परिषद्को महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।
उनले पृथ्वीपथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्र सिकाउने जिकिर गरे । पृथ्वीपथबाट नेपाल अघि बढ्दा पोखरा मात्र पुग्न सकिने उनले टिप्पणी गरे ।
उनले हाल देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति–जनजाति सबैलाई एक बनाएर विकासका काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने समय रहेको बताए ।
वर्तमानको आवश्यकताअनुसारका नीति चाहिने उनले उल्लेख गरे । राष्ट्र जोगाउन र एकताबद्ध बनाउन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित गर्दै उनले १३औँ सन्तानले राजा हुनका निम्ति पृथ्वीपथको युक्ति निकालेको बताए । आजको समय राजा, रजौटा, तानाशाहहरूको नभई लोकतन्त्रको समय भएको उनले उल्लेख गरे ।
बुद्धिजीवी परिषद्को महाधिवेशनमा प्रधानमन्त्री ओलीको भनाइ पढ्नोस्–
राष्ट्रिय एकता भन्नेबित्तिकै केही केही यस्ता खालका चाटुकारहरू निस्किए अहिले, अहिले आएर यति बेला पृथ्वीपथ अरे ! पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि, त्यही हो क्यार ! ढाई सय वर्षअघिको कुरा ल्याएर देशको विकास ? देशलाई एकताबद्ध बनाउनु छ । पृथ्वीपथले एकताबद्ध ? मारकाट गरेर एकताबद्ध गर्ने ? एकीकरणको कुरा एउटा होला । एकीकरणको समय एउटा होला । एकीकरणका समयमा पृथ्वीनारायण शाहको विचार र बाटो ठिकै थियो होला । अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति–जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथ ! पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए ? संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथ ! कति पुरातनपन्थी हो ? यो पृथ्वीपथ भनेको सुनेपछि अर्काले भन्छ– राजर्षि जनकपथ, यलम्बरपथ, मानदेवपथ, अंशुवर्मापथ, चल्लपथ, मल्लपथ ! यी चल्लपथ, मल्लपथ, के जाति पथ इतिहासका पथ हुन् कि आजका आवश्यकताअनुसारका ? आजका विचारअनुसारका जनताको बहुदलीय जनवादको बाटोबाट अघि बढ्ने कि ढाई सय वर्षअगाडिका, आज असान्दर्भिक भएका, त्यति बेलाका महत्त्वपूर्ण कुरा होलान्, आज तिनले बाटो देखाउन सक्दैनन् । आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिन्छ । बिसे नगर्चीको एक सुका खोजेर राष्ट्र बलियो बनाउँछु भन्ने कुराले हुन्छ ? त्यति बेला भयो होला । आज हरेकले उद्यमशीलतामा जान जरुरी छ । हामी उद्यमशीलताका कुरा गरिरहेका छौँ । बिसे नगर्ची ? हामी राष्ट्रका कुरा गर्दै छौँ । पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई त मास्ने कुरा गर्थे त ! मासेको होइन ? अनि, पृथ्वीनारायाण शाहपछि पनि अनेक रजौटाहरू मासेको होइन ? आज त राष्ट्र जोगाउनु र एकताबद्ध बनाउन जरुरी छ । त्यति बेला मास्नु र एकीकरण गर्नु थियो । अनि, उद्देश्य, विचार, समय, परिस्थिति मिल्छ ? केके न ल्याएँ भनेर पृथ्वीपथ ! १३औँ सन्तानले राजा हुन युक्ति निकालेको पृथ्वीपथ ! राजा हुने युक्ति अहिले पनि । आजको समय राजा, रजौटा, तानाशाहहरूको समय होइन, आज लोकतन्त्र र लोकतान्त्रिकरणको समय हो । हामी त्यतै जाँदै छौँ । न्युज एजेन्सी नेपाल