site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओली स्पेन प्रस्थान, रियाल मड्रिडका अधिकारीसँग भेटघाटसम्मको कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् । शनिबार (असार १४) साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल कतार एयरवेजको विमानमार्फत स्पेन प्रस्थान गरेको हो ।

स्पेनको ६ दिने औपचारिक भ्रमण टोलीमा प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधिमण्डल छ । उनकी धर्मपत्नी राधिका शाक्यसहित परराष्ट्र मन्त्रालयका सचिव, सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी टोलीमा छन् । अर्थसचिव र प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा छन् । प्रतिनिधिमण्डलमा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कका आवासीय प्रतिनिधि समेत रहनेछन् ।प्रधानमन्त्रीको मुख्य सल्लाहकारसहित स्वकीय सचिवालयका आवश्यक अधिकारीहरू समेत टोलीमा छन् ।

प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना गरिने ‘विकासका निम्ति वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । संयुक्त राष्ट्रसंघको ‘विकासका निम्ति वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’का क्रममा भ्रमणको दोस्रो दिन (असार १५) दिउँसो करिब ४ बजे नेपाली प्रतिनिधिमण्डल स्पेनको सहर सेभियामा पुग्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसलगत्तै प्रधानमन्त्री ओलीले नागरिक समाजले आयोजना गर्ने प्लेनरीको समापनसत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँ स्पेनको मन्त्रिपरिषद्का अध्यक्षसहित विभिन्न व्यक्तित्वको सहभागिता हुनेछ । त्यही दिन साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग नेपालको प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक तय भएको छ । असार १५ गतेको अन्तिम कार्यक्रम स्पेनका नरेशद्वारा राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरिने रात्रिभोज हो ।

भ्रमणको तेस्रो दिन (असार १६) बिहान उद्घाटनसत्रमा सहभागी हुने, अपराह्न गेट्स फाउन्डेसनले आयोजना गर्ने ‘विकास सहयोगको भविष्यका निम्ति स्वतन्त्र आयोग’को घोषणा कार्यक्रममा सम्बोधन, दिउँसो १ बजे मित्रराष्ट्र स्टोनियाका राष्ट्रपति अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ ।

त्यही दिन दिउँसो ३ देखि ४ बजेका बीचमा नेपालका प्रधानमन्त्री एवं अल्पविकसित राष्ट्रहरू (एलडीसी)को अध्यक्षका हैसियतमा ओलीले सम्मेलनमा सम्बोधन गर्नेछन् । अपराह्न ४ देखि सवा ५ बजेका बीचमा इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय बैठक, पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँग पनि द्विपक्षीय बैठक, संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेससँग बैठक हुनेछ । तेस्रो दिनको अन्तिम कार्यक्रम स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)द्वारा दिइने औपचारिक रात्रिभोज हो ।

चौथो दिन (असार १७ गते) प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षतासहित उद्घाटन, स्पेन सरकारका अध्यक्ष पेद्रो साञ्चेजद्वारा आयोजना गरिने ‘वैश्विक ऐक्यबद्धतामा लगानी : विकास सहयोगको नयाँ दृष्टिकोण’ शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यही दिन दिउँसो साढे १२ बजेपछि नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (यूएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिका निम्ति सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेबल एलडीसी ग्राजुएसन) उच्चस्तरीय साइड–इभेन्टमा उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

दिउँसो नै नेपाल र बुरुन्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा सम्बोधन गर्ने कार्यक्रम छ ।

दिउँसो ३ बजे थिम आधारित राउन्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन)मा उनले सम्बोधन गर्ने कार्यक्रम छ । साँझ ८ बजे स्पेनका निम्ति नेपाली राजदूतले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।

असार १८ गते सेभियाबाट म्याड्रिड फर्कने कार्यक्रम छ । म्याड्रिड पुगेसँगै साँझ ५ बजेदेखि सुरु हुने ‘नेपाल–स्पेन बिजनेस तथा लगानी प्रवद्र्धन’ साँझ नामक कार्यक्रममा प्रतिष्ठित व्यावसायीलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । त्यसक्रममा नेपालमा लगानी गर्न आह्वान गर्ने प्रधानमन्त्री ओलीले संसद्‌मा जानकारी गराउने क्रममा बताएका छन् ।

असार १९ गते स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीले रियाल मड्रिड फुटबल क्लबका अधिकारीसँग भेटघाट र सान्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम छ । अन्तिम कार्यक्रमका रूपमा स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको जनाइएको छ ।

यही असार २० गते अपराह्न पौने ५ बजे प्रधानमन्त्री ओली काठमाडौंमा अवतरण गर्ने कार्यतालिका छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्