
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अपेक्षाकृत रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजले शनिबार काठमाडौंमा आयोजना गरेको पोष्ट बजेट छलफलमा उनले कार्यान्वयनमा सफल हुनुपर्ने बताए ।
आगामी आवमा कम्तीमा ९० प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने उनको भनाइ छ ।
बिगतमा कुनै एउटा क्षेत्रलाई लाभ दिएको छ भन्ने कुरा आउने गरेको भए पनि यो पटकको बजेटमा त्यस्तो नरहेको बताए ।
निर्माण क्षेत्रका लागि केही राहतका कुराहरु पनि आएको उनले बताए । दुई वर्षभित्र गौरवका योजना सम्पन्न गर्ने लक्ष्य लिएको कुरा निकै राम्रो भएको उनको भनाइ छ ।
अहिले योजना आयोग र सरकारले सहकार्य गरेको अनुभूति भएको उनले बताए । निर्माण क्षेत्रका सुझाबहरुलाई समेटेको भए लक्ष्य प्राप्त हुने र आम जनताले लाभ पाउने अवस्था रहने उनको भनाइ छ ।
यद्यपि, रुग्ण आयोजनालाई बजेटले सम्बोधन गर्न नसकेको उनको भनाइ छ । रुग्ण आयोजनाहरुलाई नीति तथा कार्यक्रममा सम्बोधन गरे पनि बजेटमा त्यो आउन नसकेको उनको भनाइ छ । रुग्ण आयोजना सञ्चालनमा ल्याउन कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
तीन करोडभन्दा कमका आयोजना बनाउन नपाउने भनेको अवस्थामा यसले विकासमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । सार्वजनिक खरिद ऐनमा भएको संसोधनले आयोजनाहरु सम्पन्न गर्न नसकिएकोले यसबारे सरकारले सोच्नुपर्ने उनको भनाइ छ ।