
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको राहुघाटको प्रगति करिब ६५ प्रतिशत सकिएको छ । गण्डकी प्रदेशको म्याग्दीमा अवस्थित ४० मेगावाटको आयोजना दुई लटमा विभाजन गरेर काम भइरहेको छ । जसमा सिभिल कार्य करिब ८१ प्रतिशत भौतिक प्रगति भएको छ । यस्तै, इलेक्ट्रोमेकानिकल कार्यको प्रगति करिब ५० प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ ।
आयोजनाको प्राधिकरणका कार्यकारी निर्देशकसहित तथा नेपालका लागि भारतीय राजदूत र अन्य उच्च पदस्त अधिकारीले स्थलगत निरीक्षण गरी आयोजनाको कार्य प्रगति एवं निर्माण कार्यको बारेमा जानकारी लिएका छन् ।
आयोजनाको कुल अनुमानित लागत नौ अर्ब १७ करोड २६ लाख छ । आयोजनामा भारतीय आयात निर्यात बैंक (एक्जिम बैंक अफ इन्डिया) बाट ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण छ । बाँकी रकम सरकार तथा विद्युत् प्राधिकरणले संयुक्तरूपमा लगानी गरेका छन् ।
आयोजनाको काम आगामी पुससम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको निर्माण कार्यलाई सिभिल तथा हाइड्रो–मेकानिकल कार्य, र इलेक्ट्रो–मेकानिकल कार्य गरी दुईवटा लटमा विभाजित गरिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रसारण गर्न दाना–कुस्मा २२० केभी प्रसारण लाइनमा ‘लुप इन लुप आउट’ प्रणालीबाट प्रसारण हुनेछ ।