
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालहरुमा सुरक्षाकर्मीले नागरिकमाथि गरेका दुर्व्यवहारका भिडियोहरु प्रायः भाइरल हुन्छन् । त्यसरी भाइरल हुने भिडियोहरु कति वर्षौं पुराना पनि हुन्छन् ।
सुरक्षाकर्मीले नागरिकमाथि गर्ने त्यस्ता प्रकारका अभद्र घटनाले सुरक्षा संगठनहरुमात्रै आलोचित हुँदैनन् सुरक्षाकर्मीप्रति नागरिकको विश्वास गुम्दै पनि गएको छ ।
तर, केही दिनयता यता मुस्ताङमा सशस्त्र प्रहरी बलका एकजना सिपाहीले ‘अपर मुस्ताङ’ घुम्म पुगेका आन्तरिक पर्यटकहरुलाई मुस्ताङबारे दिएका सूचना र व्यवहारले उनी चर्चामा छन् । सामाजिक सञ्जाल फेसबुकमा उनको नम्रताको तारिफ गर्दै भिडियो सेयर भइरहेको छ ।
भिडियोमा देखिएअनुसार उनले गुड्दै गरेको एउटा गाडीलाई रोकेको जस्तो देखिन्छ ।
गाडी रोकिएपछि उनी हात जोड्दै भन्छन्, ‘‘तपाईंहरुलाई अपर मुस्ताङमा स्वागत छ । तपाईंहरु अहिले मुस्ताङको नेथुम भन्ने ठाउँमा हुनुहुन्छ । यो ३९ सय ५० मिटरको हाइटमा छ । तपाईंहरुलाई केही गाह्रो साह्रो टाउको दुख्ने त भएको छैन ?’’
गाडीमा बसेका पर्यटकहरुले जवाफ दिन्छन्,‘‘छैन छैन ।’’
त्यति नै बेला सशस्त्र प्रहरी बलका ती सिपाही फेरि भन्छन्,‘‘ यहाँबाट जाँदा अझ गाह्रो हुन सक्छ । यहाँबाट अझ १४ किलोमिटर टाढा छ । त्यहाँ ४६ सय मिटरको हाइट छ । यहाँ पुग्दा नै गाह्रो भएको छ भने यस्तै बस्नु माथि झन् गाह्रो हुन्छ । कोरला नाका नेपाल र चीनको सीमा हो ।’’
उनी थप्छन्,‘‘त्यहाँ हाम्रो २४ नम्बर पिलर छ । त्यो दशगजा क्षेत्र हो । त्यो भनेको दुवै देशको जमिन जोडिएको ठाउँ हो । त्यो पिलरमा पुगेपछि पिलरमाथि कुनै पनि कुरा नराखिदिनुहोला । पिलरमा अडेस लागेर पनि नबस्नु होला । त्यो अनुमति छैन । पिरलभन्दा केही पर काँडेतार छ । त्यहाँ नजानुहोला तपाईंहरु चाइना जान पाउनुहुन्छ । तर फर्किँदाखेरि चकलेट, रक्सीहरु पनि अलिअलि ल्याउन पाउँछ । तर, बिक्री गर्ने उद्देश्यले नल्याइदिनुहोला आफ्नो प्रयोजनका लागिमात्रै ल्याउनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला ।’’
यसरी आन्तरिक पर्यटकलाई स्वागत गर्दै जानकारीमूलक सूचना दिने सशस्त्र प्रहरी बलका सिपाही हुन्– सुनील श्रीष । उनी सशस्त्र प्रहरी बलको सीमा सुरक्षाका लागि खटिएको नेथुम आउट बोर्डर पोस्ट (बिओपी) मा कार्यरत छन् ।
बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले कोरला नाका घुम्न जाने आन्तरिक पर्यटकहरुलाई सशस्त्र प्रहरी बलको टोलीले चेक प्वाइन्टमा स्वागत गर्ने र नाकाको बारेमा जानकारी दिँदै आएको बताए ।
सुनिल तीन महिना अघि बीओपीमा पुगेका हुन् । उनले भने,‘‘हाम्रो एक सिफ्टको ड्युटीमा रहेको टोलीले कम्तिमा पनि ५० वटा जति गाडीहरु रोकेर यसरी नै जानकारी दिने गरेका छौँ । सुनीलले दिएको जानकारी पनि त्यही मध्येको एक हो ।’’
नेपाली बाहेक विदेशीहरुलाई भने सशस्त्र प्रहरी बलको चेक प्वाइन्टबाट पार गर्न दिइँदैन । नम्र स्वभावका सुनीलले आफू चैतदेखि नेथुम बीओपीमा रहेको बताए ।
उनले भने,‘‘यो हाम्रो नियमित काम हो । कोराला घुुम्म जानेहरुलाई त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी गराउने कार्यालयकै निर्देशनअनुसारको हो । तर, एक जना दाइको टोलीले भिडियो भाइरल बनाइदिनु भएको रहेछ । मैले पनि थाहा पाएँ ।’’
आफूले उक्त भिडियो खिचेर पोष्ट गर्लान् भनेर नसोचेको सुनिलको भनाइ छ । उनी भन्छन्,‘‘ मैले बोली रहँदा फोटो खिचेको जस्तो देखेको थिएँ । मैले यहाँको सिनको होला भनेर सोचेको थिएँ । तर, भिडियो खिच्नुभएछ ।’’
सुनीलले आफू सयअघि जोमसोम बीओपीमा रहेको र सशस्त्र प्रहरीमा २०७९ वैशाखमा भर्ना भएको बताए । आफ्नो भिडियो भाइरल गर्ने मानिससित कुरा नभएको बताए ।
उनले भने,‘‘मेरो भिडियो टिकटकमा विसन विलम लामाले राख्नुभएको देखेँ । उहाँसँगै कुरा भएको जस्तो लाग्छ अहिले । मैले फ्रेन्ड रिक्वेष्ट पठाएको छु । एसेप्ट भएको छैन । म कुरा गर्छु ।’’