
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यू–१४ विद्यालय खेलकुद जेठ २२ देखि २६ गतेसम्म काठमाडौंमा सञ्चालन गर्ने भएको छ । बालबालिकाको खेल प्रतिभाको खोजी गर्ने उदेश्यले आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न ६ वटा खेल समावेश गरिएको राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिएका छन् ।
एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल रग्वी, ब्याड्मिन्टनका छात्र/छात्रा र क्रिकेटमा छात्रको मात्र खेल हुने छन् । विद्यालय खेलकुद महासंघ, प्याब्सन, एन प्याब्सन, नेपाल शिक्षक महासंघ तथा खेल संघहरूका प्रतिनिधि सहभागी बैठकहरूले अन्तिम तयारी गरेको कार्यक्रम संयोजक कार्यकारी समिति सदस्य रन्जना प्रधानले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन जेठ २२ गते हुनेछ । एथलेटिक्स र रग्वी २२ र २३ गते रंगशालामा हुनेछन् । सोही मितिमा व्याडमिन्टन देवीनगर हल बानेश्वर, टेबलटेनिस लैनचौर र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा सञ्चालन गरिने भएको छ ।
यस्तै, छात्र क्रिकेट भने २२ देखि २६ गतेसम्म मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने शर्माले जानकारी दिएका छन् । एथलेटिक्सको ट्रयाकतर्फ १००, २००, ४०० र ८०० तथा चार गुणा १०० मिटर रिले दौड र लङजम्पमा प्रतिस्पर्धा हुने छन् । टेबलटेनिस र ब्याड्मिन्टनमा छात्र/छात्रा सिंगल तथा डबल्सका प्रतिस्पर्धा हुने मीनकुमार शर्माले जानकारी दिए ।