site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
चन्द्रमामा आणविक पावर प्लान्ट निर्माण गर्न चीन र रुसबीच सम्झौता

काठमाडौं । रुसले चन्द्रमामा आणविक पावर प्लान्ट निर्माण गर्न चीनसँग सम्झौता गरेको छ । यो आणविक रिएक्टरले चीन र रुसले संयुक्त रूपमा नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय चन्द्रमा अनुसन्धान केन्द्रलाई ऊर्जा प्रदान गर्नेछ । यो २०३६ सम्ममा पूरा हुने अपेक्षा छ । दुई देशले हस्ताक्षर गरेको सहयोग सम्झौतामा यो विषय रहेको याहु न्युजले उल्लेख गरेको छ ।

यो घोषणा नासाले २०२६ को बजेट प्रस्ताव सार्वजनिक गरेको केही समयपछि आएको हो । योसँगै चन्द्रमावरिपरि कक्षीय आधार निर्माण गर्ने नासाको योजना रद्द हुने समाचारमा उल्लेख छ ।

Argakhachi Cement Island Ad

रुसी राज्य–नियन्त्रित समाचार संस्था टासमा सन् २०२४मा रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका महानिर्देशक युरी बोरिसोवको अन्तर्वार्ता प्रकाशित थियो । उनका अनुसार चीन–रुसको यो रिएक्टर निर्माण कार्य मानवरहित स्वायत्त रूपमा सम्पन्न गरिनेछ । यसलाई कसरी सम्पन्न गर्ने भन्ने विवरण अहिले स्पष्ट भएको छैन । तर बोरिसोवले प्राविधिक कदम लगभग तयारी अवस्थामा रहेको बताएका थिए । 

रोस्कोसमोसले मे ८मा उक्त सम्झौतामा हस्ताक्षरपछि गरेको घोषणामा भनेको छ, “यो केन्द्रले मौलिक अन्तरिक्ष अनुसन्धान गर्नेछ र अन्तर्राष्ट्रिय चन्द्रमा अनुसन्धान केन्द्रको दीर्घकालीन मानवरहित सञ्चालनका निम्ति प्रविधि परीक्षण गर्ने तथा चन्द्रमामा मानिसहरूको उपस्थितिको सम्भावना बढाउनेछ ।”

नयाँ अनुसन्धान केन्द्रले इजिप्ट, पाकिस्तान, भेनेजुएला, थाइल्यान्ड र दक्षिण अफ्रिकासहित अहिलेसम्म १७ देशलाई आकर्षित गरेको छ । यसको आधारभूत काम चीनको २०२८को चाँगई–८ मिसनले गर्ने बताइएको छ । यस अनुसार चीनले पहिलोपटक चन्द्रमा सतहमा अन्तरिक्षयात्री उतार्नेछ । 

अन्तर्राष्ट्रिय चन्द्रमा अनुसन्धान केन्द्रको रोडम्याप पहिलोपटक सन् २०२१ जुनमा सार्वजनिक गरिएको थियो । जसमा चीन र रुसले २०३० देखि २०३५ सम्म पाँचवटा सुपर हेभी–लिफ्ट रकेट प्रक्षेपण गरेर रोबोटिक चन्द्र आधारका टुक्रा पठाउने घोषणा गरेका थिए ।

चीनको यो अन्वेषण परियोजनाका प्रमुख डिजाइनर वु यानहुआले सन् २०२४ मा राज्य–सञ्चार माध्यम सिन्ह्वालाई दिएको अन्तर्वार्तामा भनेका छन्, “एक आधारभूत कुरा स्थापित भएपछि, चीनले थप प्रक्षेपण गर्ने योजना छ, जसले यो आधारलाई विस्तार गर्नेछ । यसलाई चन्द्रमावरिपरि कक्षीय अन्तरिक्ष केन्द्र, चन्द्रमा विषुवत् रेखा र यसको टाढाको पट्टि दुई नोडहरूसँग जोड्नेछ ।”

मंगल ग्रहमा मानवयुक्त अवतरणको आधार तयार गर्दै यो विस्तारित मोडेल सन् २०५० सम्ममा पूरा हुने समाचारमा बताइएको छ । वुले भने, “यसले सौर्य, रेडियो आइसोटोप र आणविक जेनरेटरहरूद्वारा ऊर्जा प्राप्त गर्नेछ । यसमा चन्द्र–पृथ्वी र उच्च गतिको चन्द्र सतह सञ्चार नेटवर्क, साथै हपर, मानवरहित लामो दूरीको गाडी र दबाबयुक्त र दबाबरहित मानवयुक्त रोभरजस्ता चन्द्रवाहन समावेश हुनेछन् ।”

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्