site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगानी गर्ने वातावरण बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रले सुझाव

काठमाडौं । अर्थतन्त्र चलायमानका साथै लगानीका लागि सहज वातावरण बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रले सुझाव दिएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयहरूका सम्बन्धमा भएको छलफलमा उक्त सुझाव दिएका हुन् । उनीहरूले नयाँ चरणको आर्थिक सुधारका लागि सकारात्मक परिवर्तनका साथै लगानी गर्ने वातावरण बनाउने गरी बजेट ल्याउन सुझाव दिएका हुन् ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले उद्यमीको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने कार्यक्रम आगामी बजेटमा आउनुपर्नेमा जोड दिए । उनले नीतिगत स्थिरतासहितको लगानीमैत्री वातावरण बनाउनुपर्ने धारणा राखे । 

उद्योगी व्यवसायीले सम्मानका साथ उद्योग व्यापार गर्ने गरी सरकारले आवश्यक नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । लगानी हुन नसक्दा निजी क्षेत्रको मनोबल घट्न जाने भएकाले आगामी दशकलाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे । 

त्यस्तै, अन्य व्यवसायीहरूले लगानीका नयाँ क्षेत्रको पहिचान गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । 

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले तीन करोडमुनिका आयोजनाहरूलाई बजेटमा समेट्न नसकिने बताए । आयोजनाका डीपीआर सरकारले नै गरे त्यसको प्रभावकारिता बढ्ने भएकाले यसमा आयोगको जोड रहेको उल्लेख गरे । 

बैठकमा सांसदहरूले आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गर्नुपर्ने र त्यसलाई पूरा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्