site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौं–बैंगलुरु हवाई सेवा पुनः सुरु हुँदै, एयर इन्डिया एक्सप्रेसले दैनिक उडान गर्ने

काठमाडौं । टाटा समूहअन्तर्गतको एयर इन्डियाको सहायक कम्पनी एयर इन्डिया एक्सप्रेसले काठमाडौंबाट बैंगलुरु र मुम्बईका लागि नियमित उडान सुरु गर्ने भएको छ । कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएसँगै जुन १ देखि बैंगलुरु–काठमाडौं दैनिक उडान सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

एयर इन्डिया एक्सप्रेसको उडान बिहान ८ः०५ बजे बैंगलुरुबाट प्रस्थान गर्ने र बिहान ९ः०५ बजे काठमाडौंबाट फर्कने तालिका तय गरिएको छ । सेवा सुरु भएपछि बैंगलुरुमा अध्ययनरत नेपाली विद्यार्थी, नेपाल भ्रमणमा आउने भारतीय धार्मिक पर्यटक लगायतका लागि यो सेवा अत्यन्त लाभदायक हुने कम्पनीले जनाएको छ ।

विगतमा नेपाल एयरलाइन्सले काठमाडौं–बैंगलुरु नियमित उडान गर्दै आएको भए पनि हाल त्यो सेवा बन्द रहेको अवस्थामा एयर इन्डिया एक्सप्रेसको पहलले त्यो खाल्डो पुरा गर्ने विश्वास गरिएको छ । 

शैक्षिक, सांस्कृतिक तथा धार्मिक आवागमनलाई सहज बनाउने उद्देश्यले ल्याइएको यो सेवाले नेपाल–भारत पर्यटन र कनेक्टिभिटीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । निकट भविष्यमा एयर इन्डिया एक्सप्रेसले मुम्बई–काठमाडौं उडान समेत सुरु गर्ने तयारी गरिरहेको छ ।

नेपालमा एयर इन्डिया एक्सप्रेसको बिक्री प्रतिनिधि (जीएसए)को रूपमा ट्राभल राइट प्रा.लि.ले सेवा दिनेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्