site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘बी’ डिभिजन लिगको अन्तिम खेलमा ब्वाइज युनियनको रोमाञ्चक जित

काठमाडौं । ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ । बिहीबार ब्वाइज युनियनले लिगअन्र्तगत आफ्नो १३औँ खेलमा बाँसबारी क्लबविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको हो ।

खेलको पहिलो हाफमा सञ्जीव लामाको गोलमा ब्वाइज युनियनले अग्रता लियो । सञ्जीवले चौथो मिनेटमा टोलीलाई अग्रता दिलाए । तर, यो अग्रता ब्वाइज युनियनले पहिलो हाफको मध्याह्नमा गुमायो । २२औँ मिनेटमा बाँसबारी क्लबका सन्दीप लिम्बूले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

ब्वाइज युनियनका सुजन स्याङ्ताङले पहिलो हाफको अन्तिम मिनेटमा अर्काे गोल गरे । सुजनले ४४औँ मिनेटमा गरेको गोलबाट ब्वाइज युनियनले पहिलो हाफमा २–१ को अग्रता कायम राख्यो । 

६६औँ मिनेटमा बाँसबारीले सन्दीपको गोलमा पुनरागमन गर्‍यो । सन्दीपले दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काए । 

८५औँ मिनेटमा ब्वाइज युनियनका सुसन लामाले एक गोल थप्दै टोलीलाई ३–२ को अवस्थामा राखे । तर, ब्वाइज युनियनले यो अग्रतालाई लामो समयसम्म जोगााउन सकेन । लगतै तीन मिनेटको अन्तरालमा सन्दीपले टोलीको निम्ति बराबरी गोल फर्काए । 

खेलको इन्जुरी सयममा ब्वाइज युनियनका सुजन श्रेष्ठले एक गोल थपे । उनले गरेको गोल नै व्वाइजको जितका लागि निर्णायक भयो । 

जितसँगै ब्वाइज युनियनले तेस्रो स्थान सुरक्षित गरी लिग अन्त्य गरेको छ । ब्वाइज युनियनले यस संस्करणमा २२ अंकका साथ लिग अन्त्य गरेको हो । उसले १३ खेलमा ६ जित, चार बराबरी र तीन हारबाट २२ अंक जोडेको हो ।

लिग चरणमा ब्वाइज युनियनले मध्यपुर युथ एसोसियसनविरुद्ध २–०, सरस्वती युथ क्लबविरुद्ध २–१, आरसीटीविरुद्ध १–०, ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३–२, श्री कुमारी क्वलबविरुद्ध ५–३ र बाँसबारी क्लबसँग ४–३ को जित निकालेको थियो ।

पराजित बाँसबारीले १५ अंकका साथ लिग अन्त्य गरेको छ । बाँसबारीले १३ खेलमा पाँच जित र आठ हारबाट १५ अंक जोडेको हो ।

लिग चरणमा बाँसबारी क्लबले आरसीटीविरुद्ध ४–२, ब्रिगेड ब्वाइज क्लबविरुद्ध १–०, च्यासल युथ क्लबविरुद्ध १–०, नयाँबस्ती युथ क्लबविरुद्ध २–० र श्री टुसाल युवा क्लबविरुद्ध १–० को जित निकालेको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्