site stats
बाह्रखरी :: Baahrakhari
देश
तीनकुने घटना : करिब ८० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरी राय
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले तीनकुने घटनाको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । गएको चैत १५ मा राजावादीले तीनकुनेमा आयोजना गरेको प्रदर्शन अराजक बनेपछि जनधनको क्षति भएको थियो । प्रदशर्नका क्रममा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको ज्यान गएको थियो । प्रदर्शनकारीले दर्जन निजी तथा सरकारी गाडी र घरमा आगजनी गरेका थिए ।

सोही घटनामा संलग्नमाथि प्रहरीले लामो अनुसन्धान गरेको थियो । भिडियो भुटेजमार्फत अराजक प्रदर्शन गर्नेलाई प्रहरीले धमाधम पक्राउ गरेर अनुसन्धान गरेको हो । यसरी पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहित सांसद धवलशमशेर राणासमेत थिए । तर, राणा स्वास्थ्यको कारण र मिश्र सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण निवेदनका आधारमा थुनामुक्त भएका छन् ।

यसरी नै प्रदर्शनमा आपराधिक उपद्रव कसुर गर्नेलाई समेत प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरेको थियो । घटनाको दुई सातापछि मात्रै पक्राउ परेका प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं थुनामै छन् । राजसंस्थाको मागसहित प्रदर्शन गराउने संयोजक पूर्वपञ्ज नवराज सुवेदी हुन् । उनलाई प्रहरीले पक्राउ गरेन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तीनकुने घटनाबारे काठमाडौं प्रहरीलाई सहयोग गर्न प्रहरी प्रधान कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीसहित उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी प्रविण धितालसमेत खटिएका थिए ।

यसरी नै जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नानीकाजी थापा र उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुर शाखाका इन्स्पेक्टर राजेश महर्जनसमेत अनुसन्धानमा संलग्न अधिकारी हुन् ।

आरोपितहरूको संख्या ठूलो र पक्राउ परेकाहरूको भूमिकाको आधारमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बनाउनुपर्ने भएपछि कुनै कमजोरी नहोस् भनेर काठमाडौं प्रहरी परिसरबाहेक प्रहरी अधिकारीसमेत समावेश गरेर अनुसन्धान गरिएको हो ।

अनुसन्धानमा कमजोरी हुन नदिन परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले परिसरकै एसपी कुलदीप चन्दलाई मुख्य फोकल व्यक्ति तोकेर अनुसन्धान गरेका थिए ।

आजै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी
जिल्ला प्रहरी परिसरका एक अधिकारीका अनुसार, तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले मंगलबार साँझसम्म बुझाउने गरी काम गरिरहेको छ । प्रहरीले चैत १५ बाट नै घटनामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । संलग्नमाथि प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान थालेको थियो ।

प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान र अभियोजन गर्न ६० दिनको अनुमति पाउने कानुनी व्यवस्था छ । प्रहरीले आरोपितलाई पक्राउ गरेर थुनामा राखेर अनुसन्धान गरेको मंगलबार ५३ दिन पुगेको छ ।

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनलाई अभियोजन गर्न सरकारी वकिल कार्यालयलाई समेत समय चाहिने भएपछि प्रहरीले मंगलबार साँझसम्म अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘‘हामीले सकेसम्म आजै अनुसन्धान प्रतिवेदन बुझाउने गरी काम गर्दै छौँ । गए रातिदेखि नै नसुती यही काममा लागेका छौँ, सकेसम्म आज नै बुझाउने तयारी छ ।’’

प्रहरी स्रोतका अनुसार, प्रहरीले घटनामा संलग्न दुर्गा प्रसाईं, सन्तोष राजावादीसहित केही आरोपितलाई राज्यविरुद्धको कसुर, संगठित अपराध, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा चलाउनुपर्ने राय दिने तयारी गरेको छ ।

यस्तै, रवीन्द्र मिश्र, धवलशमशेर राणालाई राज्यविरुद्धको कसुर, संगठित अपराधमा र आपराधिक उपद्रव कसुरमा कारबाही गर्नुपर्ने राय दिँदै छ । यसरी नै पक्राउ परेका अधिकांश आरोपितविरुद्ध भने प्रहरीले आपराधिक उपद्रव कसुर मुद्दा चलाउनुपर्ने राय दिने तयारी गरेको छ ।

आपराधिक उपद्रव कसुरका अधिकांश आरोपित थुनाबाहिर राखेर प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले प्रदर्शनमा अराजक गतिविधि गर्नेमाथि विभिन्न सीसीटीभी फुटेज तथा भिडियोमा देखिएका आधारमा अनुसन्धान गरेको थियो । प्रहरी स्रोतका अनुसार, सामान्य कसुरदेखि जघन्य अपराधसम्मका झन्डै ८० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गर्ने तयारी छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्