
काठमाडौं । गितेन्द्रबाबु राई अध्यक्ष भएको गोर्खा मिडिया प्रालिका तत्कालीन दुई साझेदार रवि लामिछाने र छविलाल जोशी थुनामा छन् । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछाने र प्रहरीका पूर्वडीआईजी जोशी दुवै यतिखेर रुपदेन्ही कारागारभित्र छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले जोशीलाई पाँच महिनाअघि गएको माघ अन्तिम साता थुनामा पठाउने आदेश गरेको थियो । त्यसयता उनी थुनामै छन् । त्यतिबेला जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा छाडेको थियो ।
जिल्ला अदालत रुपन्देहीले मागेको एक करोड रुपैया धरौटी बुझाएर लामिछाने थुनामुक्त भएका थिए । लामिछानेको हकमा जिल्ला अदालतहरूले दिँदै आएको धरौटीको सुविधा उच्च अदालत तुलसीपुरको इजलासले रोक्यो ।
रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा बस्नुपर्ने मागसहित उच्च पुगेका जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको मागअनुसार बुटवल इजलासले चैत २२ मा थुनामा राख्ने आदेश गर्यो । त्यसो त, रुपन्देहीबाहेक मुद्दा चलेका पोखराको सूर्यदर्शन, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा जिल्ला अदालतले धरौटीमा छाडेको थियो ।
जोशीले समेत त्यही सहुलियत पाउँदै आएका थिए । तर, रुपन्देही जिल्ला अदालतले भने जोशीको उक्त क्रमलाई पूर्णबिराम लगाएको थियो । रविलाई त्यही रात काठमाडौंमा पक्राउ गरी रुपन्देही कारागार चलान गरिएको थियो ।
करिब दुई महिनादेखि लामिछाने र पाँच महिनादेखि जोशी थुनामा छन् । तर, लामिछाने र जोशी दुवैजनाका परिवारले उच्चको आदेशविरुद्ध बन्दीप्रत्यक्षीकरणको निवेदन सर्र्वोच्चमा दिएका छन् । सर्वोच्चमा सुनुवाइ ‘हेर्दाहेर्दै’मा रहेको छ ।
सुप्रिम सहकारीबाहेक पोखराको सूर्यदर्शन, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानोपाइला सहकारीको ठगीमा उनीहरू जोडिएका छन् । पाँच सहकारी ठगीका मुख्य योजनाकार भने ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) हुन् । उनकै योजनामा बचतकर्ताले सहकारीमा राखेको अर्बौं रुपैयाँ अपचलन भएको हो ।
गोर्खा मिडिया नेटवर्क सञ्चालन गर्दा जीबी राईसँग रवि र छवि जोडिएका हुन् । प्रहरी र सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय विशेष छानबिन समितिले सहकारीको रकम गोर्खा मिडियामा गएको खुलेपछि उनीहरूविरुद्ध समेत मुद्दा चलाइएको हो ।
प्रहरीले पूर्वडीआईजी जोशीलाई २०८१ असोज ६ गते पक्राउ गरेको थियो भने लामिछानेलाई कात्तिक २ गते पक्राउ गरेर कानुनी दायरामा ल्याइएको थियो ।
जीबी अझै कानुनी दायराबाहिर
बचतकर्ताको अरबौँ रकम हिनामिना भएको पाँचवटै सहकारीका सञ्चालक भने जीबी राई नै हुन् । राईले नै सहकारीको रकम अपचलन गर्न अनेक किसिमका डमी कम्पनी सञ्चालन गरेर अर्बौं रकम अपचलन गरेको खुलिसकेको छ ।
उनीबाहेक उनका सिंगो परिवार नै सहकारीको रकम ठगीमा जोडिएका छन् । ग्यालेक्सी टिभीमा जोशी सञ्चालक र लामिछाने प्रवन्ध निर्देशक थिए । तर, जीबी अझै कानुनी दायराबाहिर छन् । करिब दुई वर्षदेखि उनी सम्पर्कविहीन छन् ।
रमेश लेखक गृहमन्त्री भएपछि केही महिना जीबीबारे चासो देखाएका थिए । तर, पछिल्लो समय जीबी राई प्रहरीको खोजी सूचीमै छैनन् । लेखक मन्त्री भए लगत्तै प्रहरीको एक टोली जीबी बस्दै आएको भनिएको मलेसियासमेत पुगेको थियो ।
तर, टोलीले कुनै उपलब्धि हासिल गरेन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीका अनुसार, प्रहरीले जीबी राईबारे खासै चासो दिएको छैन ।
ती अधिकारी भन्छन्, ‘‘हामीले औपचारिक रुपमा त खोजी जारी नै छ भन्छौ । तर, उनी मलेसियामा छन् भन्ने थाहा पाएपछि भने के खोजी गर्नु ? त्यो दुई देशबीच हुने कूटनीतिक सम्बन्धमा भर पर्ने कुरा भइसक्यो । प्रहरी आफैँ मलेसिया पुगेर ल्याउने कुरा हुँदैन ।’’
राई नेपालमा नरहेको निष्कर्ष निकालेको प्रहरीले उनको खोजीका लागि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) समेत गुहारिसकेको छ । इन्टरपोलमार्फत उनी मलेसियामा रहेको खुले पनि पक्राउ गर्न सकेको छैन ।
मलेसिया प्रहरीले राईलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन इन्कार गरेपछि उनी त्यही सुरक्षित रहेका हुन् ।
केन्दीय प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाका अनुसार, प्रहरीले फरार आरोपीलाई पक्राउ सम्पूर्ण प्रयास गरिरहेको छ, तर पक्राउ गर्न सकिएको छैन ।
उनले भने, ‘‘राई नेपालमा नभेटिएपछि उनको खोजीका लागि इन्टरपोलदेखि प्रहरी–प्रहरीबीचको सम्बन्धमार्फत खोजीका प्रयास गरेका थियौँ । तर सफलता मिलेको छैन । अझै खोजी कार्य जारी छ ।’’
तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरका पालामा राई मलेसियामा रहेको तथ्य खुलेको थियो । तर, प्रहरीलाई उनी मलेसियामै छन् वा अन्य देश भागे भन्ने सूचना छैन । गत चैत ५ मा आईजीपी नियुक्त भएपछि दिपक थापाले समेत राईबारे चासो राखेको र कुनै ‘क्लु’ नभेटेको प्रहरी अधिकारीहरू बताउँछन् ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले पनि राईको खोजी कार्य जारी रहेको जानकारी दिए । ‘‘हामीले विभिन्न माध्यमबाट खोजी जारी नै राखेका छौँ । प्रहरीले अनुसन्धान गर्ने हो । त्यो गरिरहेको छ,’’ उनले भने ।
उता रास्वपाका कार्यकर्ताहरू भने आफ््ना सभापति लामिछाने पक्राउ गर्नुमात्र सरकारको उद्देश्य भएकाले सहकारीका मुख्य आरोपी राईलाई पक्राउबारे सरकार मुकदर्शक बनेको आरोप लगाउँछन् । जीबीले मलेसियामा व्यवसाय गरेर बसेका कारण उनलाई नेपाल फर्काउन मलेसिया सरकार अनिच्छुक देखिएको प्रहरी अधिकारी नै बताउँछन् ।
सहकारी ठगी प्रकरणबारे जिल्ला अदालत कास्कीले जीबी राईसहित १८ जनाविरुद्ध पहिलो पटक २०८० साउनमा पक्राउ अनुमति दिएको थियो । यसरी नै राईकै सहोदर दाइहरू ५० वर्षीय अनन्तबाबु राई र ४७ वर्षीय देवेन्द्रबाबु राईसमेत फरार छन् ।
जीबी राई मलेसिया पुगे पनि उनका दाइहरू भने भारतमा लुकेको आंशका प्रहरीको छ । कास्की प्रहरीले जीबी राईलाई पक्राउका लागि पुनः प्रक्रिया थालेको छ । इन्टरपोलले राईलाई रेड नोटिसमा राखिसकेको छ । कास्की प्रहरीले गएको जेठमा नै जीबीको राहदानी रद्द गर्नुपर्ने निष्कर्षसहित परराष्ट्र मन्त्रालय र राहदानी विभागलाई पत्र लेखेको थियो ।
तर, कानुनी प्रावधानका कारण उनको राहदानी अझै रद्द भएको छैन ।