site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मंगोलियामा सात लाख हेक्टर वनमा डढेलो, चार अर्ब ३० करोड क्षति
प्रतीकात्मक तस्बिर ।

उलनबटोर । मंगोलियामा चालु वर्षको सुरुदेखि हालसम्म ८९ वटा वन र घाँसे मैदानी क्षेत्रमा आगलागी भएको छ । 

ती डढेलोबाट सात लाख ४८ हजार आठ सय दुई हेक्टर क्षेत्रफल जलेर नष्ट भएको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जानकारी दिएको छ ।

आगलागीका कारण करिब चार अर्ब ३० करोड मंगोलियाली मुद्रा बराबरको क्षति पुगेको सो निकायले जनाएको छ ।

प्राकृतिक डढेलो हुने प्रमुख कारणमा सर्वसाधारणले आगोको लापरवाहीपूर्ण प्रयोग गर्नु तथा घाँस तथा फोहोर जलाउनेजस्ता काम रहेको विज्ञहरूले बताएका छन् ।

सुक्खा र हुरीयुक्त मौसमका कारण वसन्त ऋतुमा मंगोलियाको अधिकांश भागमा एक्कासि डढेलो लाग्ने सम्भावना बढी रहेको जनाउँदै, सो निकायले आम जनतालाई डढेलो रोकथाममा सजग रहन आह्वान गरेको छ ।रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्