
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित अन्नपूर्ण हेलिकोप्टर प्रालिले नयाँ एयरबस हेलिकोप्टर ल्याउने भएको छ । युरोपेली वायुसेवा निर्माता एयरबसको दुई हेलिकोप्टर सञ्चालन गर्दै आएको अन्नपूर्णले एभियसनमा बलियो उपस्थिति जनाउन तेस्रो हेलिकोप्टर ल्याउन लागेको हो ।
अन्नपूर्णले हाल आफ्नो फ्लीटमा दुई एच १२५ एयरबस हेलिकोप्टर राखेको छ । तेस्रो एयरबस हेलिकोप्टर खरिदको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । नयाँ हेलिकोप्टर ल्याउन कम्पनीले ७० प्रतिशत ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाएको छ ।
तेस्रो हेलिकोप्टरको कुल लागत अन्नपूर्णको खुद सम्पत्ति (नेटवर्थ) भन्दा बढी हुने जानकारी कम्पनीले दिएको छ । अन्नपूर्ण हेलिकोप्टर सन् २०१७ जुलाई ३१ मा स्थापना भएको हो । कम्पनीले पहिलो हेलिकोप्टर सेवा सन् २०२२ बाट सञ्चालनमा ल्याएको हो । यस्तै, दोस्रो हेलिकोप्टरले यसै वर्षबाट सञ्चालन सुरु गरेको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरणको निरीक्षणअन्तर्गत यसले कडा सुरक्षा मापदण्ड र सञ्चालन दिशानिर्देशहरू लागु गर्दछ । अन्नपूर्णले महत्त्वपूर्ण नियामक जोखिमहरूको सामना गर्नुपरेको छ । उड्डयन अपरेटरहरूको लागि विशिष्ट प्रमाणीकरण आवश्यकताहरू र विभिन्न सुरक्षा नियमहरूले लागत बढाउने गरेको छ । अचानक नियामक परिवर्तनहरू जस्तै अस्थायी उडान निलम्बनले व्यवसाय सञ्चालनमा बाधा पुर्याउन पनि सक्छ ।
अन्नपूर्णले चार्टर, उद्धार, तीर्थयात्रा उडान आदि जस्ता विभिन्न हेलिकोप्टर सेवाहरू प्रदान गर्दछ । अन्नपूर्णका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ छन् । श्रेष्ठसँग सेवा क्षेत्रमा एक दशकभन्दा बढीको कार्य अनुभव छ । उनी बल्लीको क्यासिनोको प्रबन्ध निर्देशक पनि हुन । कम्पनीले ८१ करोड ४८ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
गत वर्ष अन्नपूर्णले चार करोड ८० लाख रुपैयाँ कारोबार गरेको छ । २०२३ मा कम्पनीले तीन करोड १० लाख रुपैयाँ कारोबार गरेको थियो । तेस्रो हेलिकोप्टर सञ्चालनमा आएपछि कम्पनीको आम्दानी अझै बढ्दै छ ।