-1747647058.jpeg)
काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा शिक्षा तथा साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालय र ६ वटा प्रदेश कार्यालयद्वारा प्राधिकरणको ५७औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेता हरेक प्रदेशका एक–एकजना गरी सातजना विजेतालाई प्रमाणपत्र र २० हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको हो ।
वाग्मती प्रदेशका विजेतालाई आइतबार केन्द्रीय कार्यालय, कुपन्डोल, ललितपुरमा एक कार्यक्रमबीच नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा कोसी प्रदेशबाट विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी धनराज शाह, मधेस प्रदेशबाट वीरगञ्जस्थित नेशनल एकेडेमी क्याम्पसका विद्यार्थी कविताकुमारी यादव र वाग्मती प्रदेशबाट भक्तपुरस्थित ख्वप कलेज अफ लका दिलबहादुर भण्डारी विजयी भएका थिए ।
यसैगरी, गण्डकी प्रदेशबाट पोखरा विश्वविद्यालय, स्कुल अफ विजनेसका विद्यार्थी कुसुम क्षेत्री, लुम्बिनी प्रदेशबाट रूपन्देहीस्थित बुटवल कालिका क्याम्पसका विद्यार्थी निरा अधिकारी, कर्णाली प्रदेशबाट सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, शिक्षाशास्त्र संकायका विद्यार्थी ताराकुमारी मल्ल र सुदूरपश्चिम प्रदेशबाट धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी दिव्या पन्त निबन्ध प्रतियोगितामा विजयी भएका थिए ।
‘गरिबी न्यूनीकरण तथा देशको आर्थिक विकासमा बिमाको महत्त्व’ शीर्षकमा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा देशका विभिन्न क्याम्पसहरूमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबाट गरी जम्मा ८९ वटा निबन्ध प्राप्त भएको प्राधिकरणले जनाएको छ ।