site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुनमा जस्तै झरी, यी चार स्थानमा ‘धेरै भारी’ वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा ‘धेरै भारी’ वर्षा भएको छ । कास्की, रौतहट, सप्तरी र चितवनमा ‘धेरै भारी’ वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टा (सोमबार अपराह्न ४ बजेसम्म)मा कास्कीमा १२०, रौतहटमा समान १२०, सप्तरीमा १०७ र चितवनमा १०० मिलिमिटर वर्षा भएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

यो अवधिमा देशका केही स्थानमा ‘भारी’ र ‘मध्यम’ वर्षा पनि भएको छ । कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।

यति बेला पनि काठमाडौंसहित केही स्थानमा पानी परिरहेको छ । पछिल्ला दिन देशका कतिपय स्थानमा झरीजस्तो वर्षा भएको छ ।

मौसमविद्का अनुसार, हाल प्रिमनसुन अवधि हो । प्रिमनसुनमा लामो समय वर्षा खासै हुँदैन । क्षणिक र खण्डित वर्षा हुने गर्छ । तर, पछिल्ला दिनको वर्षा ‘मनसुन टाइप’को छ । बिहान, दिउँसो, राति पनि पानी परिरहेको छ । केही समय रोकिए पनि फेरि वर्षा भइरहेको छ । अर्थात्, लामो समय पानी परिरहेको छ । तर, मनसुन सुरु भएको छैन । मनसुन सुरु नभईकनै झरीजस्तो अवस्था छ । आइतबार (जेठ ४) काठमाडौंमा पनि करिब यस्तै भयो ।

प्रिमनसुनमा विशेष गरी स्थानीय वायुको प्रभाव रहन्छ । हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको प्रभाव छ । बंगालको खाडी र अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावा (पानीको कणसहित)को पनि प्रभाव छ ।

“बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा भित्रिएर त्यसको पनि प्रभाव रहँदा वर्षाको सम्भावना बढी हुन्छ,” मौसमविद् अधिकारीले बाह्रखरीसित भने, “अहिले यी सबैका कारणले वर्षा भएको हो ।”

अंग्रेजी क्यालेन्डरका तीन महिना – मार्च, अप्रिल र मेलाई प्रिमनसुन अवधि मानिन्छ । देशमा सबैभन्दा धेरै पानी पर्ने मनसुन सिजनका करिब चार महिना – जुन, जुलाई, अगस्ट र सेप्टेम्बरमा हो । मनसुनपूर्वको अवधि हो, प्रिमनसुन ।

महाशाखाका अनुसार, प्रिमनसुनमा वार्षिक वर्षाको १२.५ प्रतिशत पानी पर्ने गर्छ । मनसुनमा ८०, पोस्ट मनसुनमा ४ र हिउँदमा करिब ३.५ प्रतिशत वर्षा हुन्छ ।

नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ हो । गत वर्ष सरदर मितिभन्दा तीन दिन छिटो अर्थात् जुन १० (जेठ २८)मा मनसुन नेपाल भित्रिएको थियो ।

हरेक वर्ष मनसुन सरदर मितिभन्दा ढिलो वा चाँडो पनि भित्रन र बाहिरिन सक्ने मौसमविद्ले बताउँदै आएका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्