
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी सिंहदरबारमा औपचारिक वितरण सुरु गरेका छन् । सोमबार सिंहदरबार परिसरमा आयोजित एक समारोहबीच मन्त्री यादवले मेलम्चीको पानी पिएर अभियानको शुभारम्भ गरेका हुन् ।
उनले मेलम्चीको पानी वितरणबाट अब सिंहदरबार परिसरमा प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित हुने जानकारी दिए । मन्त्री यादवले अबदेखि सिंहदरबारमा रहेका सबै मन्त्रालय र कार्यालयहरूमा मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी आपूर्ति गर्ने बताए । खानेपानी वितरण प्रणालीलाई पारदर्शी, दिगो र सस्तो बनाउँदै प्रशासनिक क्षेत्रमै उदाहरणीय अभ्यासको थालनी गरिएको उनको भनाइ थियो ।
"हामीले भनेका थियौँ मेलम्चीको पानी सिंहदरबारमा ल्याउने । त्यो पानी सबै मन्त्रालयमा पुर्याउने साथै सिंहदरबारभित्र जार र बोतलका पानी बन्द गर्ने । त्यसैका लागि हामीले मेलम्चीको पानी सिंहदरबारमा सुरुआत गरेका छौँ । हामीले प्रधानमन्त्री कार्यालय अगाडि नै खानयोग्य पानी चलाएका छौँ । अब यो पानी सबै मन्त्रालयमा जान्छ । जुन जार र मिनरल वाटरका बोतल प्रयोग भइरहेका थिए अब त्यसको अन्त्य गर्छौँ," उनले भने ।
उनले सुशासन, पारदर्शीता र जनताको सेवा गर्नेतर्फको प्रतिबद्धताको उदाहरण भएको बताए ।