site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी

काठमाडौं । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदन ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ अघि बढाएको छ । शुक्रबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले हेर्दाहेर्दैमा राखेको निवेदनको सुनुवाइ भइरहेको जानकारी लामिछाने र जोशीलाई सूचना दिन पनि आदेश गरेको छ ।

"प्रतिवादीहरूमध्येका रवि लामिछाने र छविलाल जोशीको तर्फबाट विद्वान् वरिष्ठ कानुन व्यवसायीहरूले प्रतिवादीहरू हाल अन्य निवेदनको सन्दर्भमा कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेको भनी जानकारी गराउनु भएको सन्दर्भलाई विचार गरी रवि र छविलाललाई सुनुवाइको जानकारी छिटो माध्यमबाट सम्बन्धित कारागार कार्यालयमार्फत पठाई निवेदक प्रतिवादीहरू आरती गुरूङ, मीना गुरूङ, रामबहादुर खनाल, लीला पछाईं र कृष्णबहादुर गुरूङका हकमा सुनुवाइलाई निरन्तरता दिने गरी प्रस्तुत प्रतिवेदनलाई जेठ ४ गतेको हेर्दाहेर्दैको पेसीमा तोकी नियमानुसार पेस गर्नू,” आदेशमा भनिएको छ । 

सूर्यदर्शन बचत तथा ऋण सहकारीको ठगी अभियोगमा कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख र जोशीसँग ८८ लाख धरौटी माग गरी धरौटी तारेखको आदेश गरेको थियो । उक्त आदेशविरूद्ध आफूलाई साधारण तारेखमा राख्नुपर्ने भन्दै लामिछाने र जोशीसहितले उच्च अदालत पोखरामा जिल्लाको बेरितको आदेश बदरको माग लिएर निवेदन दर्ता गराएका थिए । सरकारी वकिलले भने जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउन आदेश माग गर्दै निवेदन दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्