site stats
बाह्रखरी :: Baahrakhari
देश
समिति संयोजकबाट हटाइएका वडाध्यक्ष भन्छन्– बालेनले बैठक छल्न खोज्दै छन्
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो आलोचना गर्ने कार्यपालिकाअन्तर्गतका चार समितिका संयोजक हटाएका छन् । आफूलाई हटाएपछि उनीहरूले कार्यपालिका बैठक छल्न यस्तो कदम चालिएको प्रतिक्रिया दिएका छन् ।

वडा नम्बर १७ का अध्यक्षसमेत रहेका महानगरका प्रवक्ता नवीन मानन्धरले पाँच महिनासम्म पनि कार्यपालिका बैठक बोलाउन नसकेको विषयलाई 'डाइभर्ट' गर्न आलोचना गर्ने वडाध्यक्षलाई हटाएको दाबी गरे । पुस ८ गतेपछि कार्यपालिका बैठक नबसेको मानन्धरले बताए ।

“मिल्ने भए मलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउँथे होला । तर, यसका लागि कार्यपालिका बैठकले निर्णय गर्नुपर्छ । पाँच महिनादेखि नबसेको कार्यपालिका बैठक डाइभर्ट गर्न खोजियो,” उनले भने ।

वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले पनि महानगर नियमसंगत तरिकाले चल्न नसकेको बताए । “कुन नियममा टेकेर समिति बनेको थियो, फेरि कसरी हटाइयो ? बस यति हो महानगर नियमले चल्नुपर्छ भन्दै आएकामात्रै हौँ । लिखितरूपमा कार्यपालिका माग गर्दा पनि बैठक किन बस्न सकेन ?,” उनले प्रश्न गरे ।

महानगरका अनुसार, नगर कार्यपालिका कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) मा टेकेर नयाँ संयोजक तोकिएको छ ।

जसमा सूचना प्रविधि समितिका संयोजक तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई हटाएर ५ नम्बर वडाका अध्यक्ष वीरेन्द्र प्रजापतीलाई जिम्मेवारी दिइएको छ । 

सुशासन समितिका संयोजक वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर ८ का अध्यक्ष आशामान संगतको ठाउँमा वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी तोकिएको छ ।  

विधायन समितिमा वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई हटाएर वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई संयोजक तोकिएको छ ।

समितिबाट हटाइएका वडाध्यक्षले बालेनको आलोचना गर्दै आएका थिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा हाजिर गराउन चारैजना वडाध्यक्ष अग्रपंक्तिमा थिए । त्यसयता बालेन र वडाध्यक्षहरूबीच ‘ट्युनिङ’ मिल्न छोडेको थियो । बालेनले कार्यपालिका बैठक नबोलाएसम्म अन्य बैठक बहिस्कार गर्ने घोषणा वडाध्यक्षहरूले गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्