
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भविष्य नै खतरामा पारिरहेका बताएकी छन् । काठमाडौंमा आजदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा उनले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र नभएर भविष्य नै खतरामा पारिरहेको बताइन् ।
“जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिंगो मानवतालाई नै संकटमा पार्दै गएको छ,” उनले भनिन् ।
विश्वव्यापी संकटसँग जुध्न कुनै पनि देशको एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको उनको भनाइ छ ।
सामूहिक प्रयासको सुरुआत सगरमाथा संवाद भएको स्पष्ट गर्दै मन्त्री राणाले भनिन्,“‘सगरमाथा संवाद’ ‘वादे वादे जायते तत्त्वबोध’ भन्ने आदर्श वाक्यबाट प्रेरित छ । यो आदर्श वाक्यले हामीलाई बहस र संवादको भावनामा र फरक विचार र दृष्टिकोणको आदानप्रदानमार्फत सत्य कुराको खोजी र प्राप्तिका लागि प्रोत्साहित गर्छ ।”