
काठमाडौं । नेपाली सेनाले सम्झौताअनुसार सामान आपूर्ति नगर्दा राज्यलाई ठूलो नोक्सानी भइरहेको छ । समयमै सामान आपूति नगर्दा अर्बौं रुपैयाँ प्रतीतपत्र पेस्की फछर्यौट हुन सकेको छैन ।
महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ का आर्थिक गतिविधि समेटेर बुधबार सार्वजनिक गरेको ‘६२औँ वार्षिक प्रतिवेदन–२०८२’मा सेनाले सम्झौताअनुसार सामान आपूति नगर्दा राज्यलाई ठूलो नोक्सानी भइरहेको औंल्याइएको छ ।
सेनाको सम्भाररथी विभागको लापरबाहीका कारण अर्बौं रुपैयाँ प्रतीतपत्र पेस्की फछर्यौट हुन नसकेको हो ।
“विभागले उपलब्ध गराएको विवरणमा आर्थिक वर्ष २०६४/६५ देखि २०८०/८१ सम्म नेपाल बैंक लिमिटेड र नेपाल राष्ट्र बैंकमा अमेरिकी डलर दुई करोड ९८ लाख ९८ हजार, युरो २६ लाख ८२ हजार र भारतीय रुपैयाँ ५० करोड ८६ लाख ८५ हजार बराबरका प्रतीतपत्र फछर्यौट हुन बाँकी रहेका छन्,” महालेखाको प्रतिवेदनमा भनिएको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११३ (७) मा सार्वजनिक निकायले प्रतीतपत्रद्वारा मालसामान झिकाउँदा कार्यालयमा मालसामान प्राप्त भएको मितिले ३० दिनभित्र प्रतीतपत्र खोलेको पेस्की रकम फछर्यौट गर्नुपर्ने व्यवस्था छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११३ (८) मा प्रतीतपत्रबाट मालसामान उपलब्ध गराउने समयभित्र मालसामान प्राप्त हुन नसकेमा बैंकमा जम्मा भएको रकम फिर्ता लिई प्रतीतपत्र पेस्की फस्यौंट गर्नुपर्ने व्यवस्था छ । तर सेनाले भने वर्षौंदेखि यस्तो रकम फछर्यौट गरेको छैन ।
त्यसैगरी, नेपाली सेनाको लागि आवश्यक हवाई सामग्री एवं पाट्र्स खरिद गर्न सैनिक हवाई महानिर्देशनालय, मध्य एअरबेसले विभिन्न बैंकमा खोलेको अमेरिकी डलर ८ लाख ८२ हजार, युरो १ लाख ९२ हजार र भारतीय रुपैयाँ ५३ लाख ५१ हजार बराबरको प्रतीतपत्र फछर्यौट हुन बाँकी रहेको प्रतिवेदनमा जनाइएको छ ।
“खरिद सम्झौताअनुसारका सामग्री तथा सेवा निर्धारित समयमा प्राप्त नभएमा खरिद कानुनअनुसार उक्त रकम फिर्ता लिई सञ्चितकोष दाखिला गर्नुपर्दछ,” महालेखाले प्रतिवेदनमा स्पष्ट शब्दमा भनेको छ ।