
काठमाडौं । बंगलादेशको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको दर्ता निलम्बन गरेको छ । योसँगै पार्टीले अर्को राष्ट्रिय निर्वाचनमा भाग नपाउने भएको छ ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले आवामी लिगको सबै गतिविधि आतंकवाद विरोधी ऐनअन्तर्गत प्रतिबन्ध लगाएपछि यो कदम चालिएको रोयटर्सले जनाएको छ । सरकारले राष्ट्रिय सुरक्षा खतरा र पार्टीको शीर्ष नेतृत्वविरुद्ध हजारौँ प्रदर्शनकारीको मृत्युसम्बन्धी युद्ध अपराधको अनुसन्धान चलिरहेको भन्दै यो निर्णय गरेको बताएको छ ।
गृह मन्त्रालयले आवामी लिग र उक्त पार्टीसँग सम्बन्धित संगठनका सबै गतिविधिमा प्रतिबन्ध लगाएपछि निर्वाचन आयोगले पार्टीको दर्ता निलम्बन गर्ने निर्णय गरेको आयोगका सचिव अख्तर अहमदले बताएका छन् ।
बंगलादेशको निर्वाचन कानुनअनुसार कुनै पनि राजनीतिक दलले राष्ट्रिय निर्वाचनमा भाग लिन दर्ता गराउनुपर्छ । यो निलम्बनले २० वर्षभन्दा बढी समयदेखि देश नेतृत्व गरेका आवामी लिगलाई भविष्यको निर्वाचनमा भाग लिनबाट आधिकारिकरूपमा अयोग्य ठहर्याएको छ । प्रतिबन्ध हटाइएर दर्ता फिर्ता नभएसम्म अवामी लिगले निर्वाचन लड्न पाउने छैन ।
निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अपराध अदालतले अवामी लिगमाथिको कारबाही समाप्त नगरेसम्म पार्टी र यसका सहयोगी संगठनलाई कुनै पनि राजनीतिक गतिविधि गर्नबाट पनि प्रतिबन्ध लगाएको छ ।
हसिनालाई बंगलादेशको अर्थतन्त्रमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ । तर, उनी मानव अधिकार उल्लंघन र विरोध दमनको आरोपमा परेकी थिइन् । उनले २०२४ मा लगातार चौथोपटक चुनाव जितेकी थिइन् । तर, प्रमुख विपक्षी दलका शीर्ष नेताहरू जेल वा निर्वासनमा भएका कारण चुनावमा भाग लिएका थिएनन् ।
गत वर्षको अगस्टमा भएको प्रदर्शनपछि हसिनाले भारत भाग्न बाध्य भएपछि र युनुसको नेतृत्वमा अन्तरिम सरकारले कार्यभार सम्हालेका छ ।
रोयटर्सबाट ।