
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारबाट उपहार पाएको विलासी जम्बो जेटलाई एयर फोर्स वन अर्थात् राष्ट्रपतिको विमानको रूपमा प्रयोग गर्ने ह्वाइट हाउसको योजनाको बचाउ गरेका छन् ।
अमेरिकी संविधानले विदेशी सरकारबाट अमेरिकी राष्ट्रपतिले पाउने उपहारहरूमा प्रतिबन्ध लगाएको छ । यो प्रावधान नेताहरू विदेशी सरकारप्रति आश्रित नबनुन् भनेर राखिएको हो ।
“उनीहरूले हामीलाई एउटा उपहार दिइरहेका छन्,” ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरूलाई भने, “मैले त्यो स्वीकार गरिनँ भने मुर्ख ठहरिनेछु ।”
यसअघि, कतारी प्रवक्ताले उक्त विमानलाई उपहार भन्नु गलत हुने बताएका थिए । उनले अस्थायी प्रयोगका लागि विमानको हस्तान्तरणबारे दुई देशबीच छलफल भइरहेको पनि प्रष्ट पारेका थिए ।
यो समाचार ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश यात्राको क्रममा यसै हप्ता कÞतार जाने बेलामा आएको हो । ट्रम्पले भने, “अमेरिकाले कतारलाई विगतका वर्षहरूमा सुरक्षा र सुरक्षाको हिसाबले धेरै सहयोग गरेको छ ।” उनले कतारको नेतृत्वप्रति उच्च सम्मान रहेको बताए ।
ट्रम्पले थपे, “अहिले सरकारले बोइङ कम्पनीबाट दुई नयाँ विमान किन्न खोज्दा पर्खनु परेको अवस्थामा कतारले अमेरिका लागि एउटा बोइङ जेट प्रदान गर्दा त्यो धेरै राम्रो सद्भावसहितको कदम भएको बताए ।
तर, विमानको सम्भावित मूल्य र यसको व्यवस्थापनका कारण वाम र दक्षिणपन्थी दुवै धारका अमेरिकी राजनीतिका आलोचकहरूले कानुनी र नैतिक प्रश्नहरू उठाइरहेको छन् ।
क्यालिफोर्नियाका डेमोक्र्याट सिनेटर एडम शिफले अमेरिकी संविधानको एउटा भाग उदृत गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्छन्, “कुनै पनि निर्वाचित अधिकारीले संसदीय स्वीकृतिबिना विदेशी राष्ट्रप्रमुखबाट कुनै पनि प्रकारको उपहार लिन मिल्दैन ।”
न्युयोर्कका डेमोक्र्याट सांसद रिची टोरेसले अमेरिकाको सरकारी कार्यदक्षता विभागलाई यो विषयमा अनुसन्धान गर्न माग गरे । उनले भने, “यो विमान सम्भवतः कुनै विदेशी सरकारबाट अमेरिकी राष्ट्रपतिलाई दिइएको सबैभन्दा मूल्यवान उपहार हुन सक्छ ।”
तर, ट्रम्पका कट्टर समर्थकहरूबाट पनि यसको आलोचना आएको छ ।
डेली वायरका पोडकास्टर बेन शापिरोले सोमबार यो विमान उपहार सम्झौतालाई घिनलाग्दो भनेर कडा आलोचना गरेका छन् । बीबीसी