site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जताततै ‘टु–लेट’ !

काठमाडौं । अत्यन्तै व्यस्त मानिएका व्यापारिक क्षेत्रहरूमा जताततै ‘टु–लेट’का बोर्ड देखिन्छन् । साना–साना सटरदेखि कतिपय ठाउँमा पुरै घरसम्म खाली छन् । 

सामानसहितको सटर बेच्न खोजिरहेका छन् । यस्ता दृष्य सहरमा छ्याप्छयाप्ती देखिन्छ ।

अर्थतन्त्रमा सुस्तता आएसँगै मागमा कमी आएको छ । व्यवसाय गर्नेहरूको प्रकृतिमा परिवर्तन भएको छ । फेसबुक, टिकटक र इस्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत् अनलाइन अर्डर लिने र घरसम्मै पुर्‍याइदिने चलन बढेको छ । प्रविधिसँग जो अभ्यस्त छ, उसको व्यवसाय झन् फैलिएर गएको छ । 

व्यस्त व्यापारिक केन्द्रमा भाडा बढी भएका कारण सस्तो भाडामा घर तथा फ्ल्याट खोजेर अनलाइनमार्फत् सामान बेच्नेहरू बढ्दै गएका छन् । घरधनीले प्रत्येक वर्ष भाडा बढाएपछि व्यवसायीहरू एक ठाउँबाट अर्काे ठाउँको खोजीमा जानु स्वाभाविक हो ।

तर, पछिल्ला दुई वर्षयता अर्थतन्त्रमा शिथिलता देखियो ।  त्यसको प्रत्यक्ष असर थोक तथा खुद्रा व्यापारमा पर्‍यो ।  पहिले ठूलो ठाउँ लिएर व्यापार गर्दै आएकाहरूले स्पेस घटाएका छन् । कतिपय महँगो क्षेत्रबाट नयाँ क्षेत्रमा व्यवसाय सार्न बाध्य छन् । 

कतिपय पहिले लिएको ठाउँ साँघुरो भएर खुल्ला ठाउँमा आफ्नो व्यवसाय सारेका छन् ।  कतिले सेवाग्राहीको सहजताका लागि पार्किङसतिको ठाउँ खोज्ने क्रम पनि बढेको छ ।  वर्षैपिच्छे बढ्ने घर–भाडा मारले पनि साना व्यवसायीहरु नयाँ ठाउँको खोजीमा छन् । 

to-let-(14)-1747193814.jpeg
 

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी र रसिया–युक्रेनबीचको द्वन्द्वका कारण निम्तिएको विश्व अर्थतन्त्रको मन्दीले नेपाल अछुतो रहेन ।  त्यो समय थोक तथा खुद्रा व्यापार गर्दै आएका साना व्यवसायीहरू पलायन नै हुन पुगे । 

कोभिडको समयमा उनीहरूले व्यवसाय छाडेर विकल्प खोजे । कति त नयाँ तथा सस्तो ठाउँमा पनि सरे । यही कारणले गर्दा अहिले जताततै ‘टु–लेट’ अर्थात् भाडाका घर देखिन्छ । कोभिडका बेला छोडिएका व्यावसायिक सटरमा नयाँ व्यवासायी आएनन् । 

भाडा महँगो भएकै कारण नयाँ व्यवसायीहरू छोडिएका ठाउँमा आउन सकेनन् ।  ललितपुको कुपण्डोल जापानिज भाषा कक्षा सञ्चालन गर्न आएका एक युवा भाडा नतिरी भागेको घरधनी बताउँछन् । उसले भाडा नतिरेपछि सामानसहित घरधनीले ताला लगाइदिएका छन् ।

यसरी नयाँ व्यवसायीले व्यवसाय चलाउन नसक्ने स्थिति भएपछि पुराना घर र सटर खाली हुँदै गएका छन् ।  विश्वासिलो र दीगो काम गर्ने नआएपछि घरभेटीहरू पनि एक/दुई वर्षअघिदेखि ‘टु–लेट’ लेखेर बस्न बाध्य छन् । 

to-let-(15)-1747193814.jpeg
 

यतिमात्र हैन, नयाँ व्यावसायिक घर बन्ने क्रम बढेको छ । नयाँ बस्तीहरू बढेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा नयाँ बस्ती विस्तार भएका छन् । नयाँ क्षेत्रमा पुराना व्यवसायिक क्षेत्रबाट नै स्थानान्तरण भएका छन् । 

काठमाडौं महानगरपालिकाको सहरी व्यवस्थापन विभागका अनुसार, आर्थिक वर्ष ०७३/७४ देखि आर्थिक वर्ष ०७८/७९ मा झन्डै दुई हजार व्यावसायिक घर निर्माण भए ।  प्रत्येक वर्ष नयाँ व्यावसायिक घर बन्ने क्रम बढेको छ । 
घरबहाल कर र व्यवसाय दर्तावापत कर पनि बढ्दै गएको छ । 

यसले पुरानो व्यावसायिक क्षेत्रबाट नयाँ क्षेत्रतर्फ व्यवसायीहरू आकर्षित भएको देखाउँछ ।  काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले लिँदै आएको घरबहाल र व्यवसाय रजिष्ट्रेशन कर बढ्दै गएको छ । 

ललितपुर महानगरपालिकाका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म घरबहाल करवापत ५१ करोड ५९ लाख ३५ हजार रुपैयाँ आर्जन भएको छ ।

to-let-(16)-1747193814.jpeg
 

आर्थिक वर्ष २०८०/८१ को चैत मसातसम्म घरबहाल कर ४६ करोड ७२ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको थियो । त्यसैगरी व्यवसाय रजिष्ट्रेशन दस्तुरवापत चालु वर्षको चैतसम्ममा आठ करोड ८७ लाख ८० हजार रुपैयाँ आर्जन भएको महानगरको तथ्यांक छ । 

गत वर्षको चैत मसान्तसम्म आठ करोड ६४ लाख आठ हजार रुपैयाँ व्यवसाय रिजष्ट्रेशन दस्तुरवापत राजस्व उठेको थियो ।  काठमाडौं महानगरपालिकाका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख ७ गतेसम्म दुई अर्ब ११ करोड ६५ लाख रुपैयाँ घरबहाल कर संकलन भएको छ । 

गत आर्थिक वर्ष २०८०/८१ को वैशाख ७ गतेसम्म घरबहाल कर एक अर्ब ८६ करोड १२ लाख रुपैयाँ संकलन भएको थियो । एक वर्षको अन्तरालमा काठमाडौं महानगरपालिकाले उठाउँदै आएको घरबहाल कर २५ करोड ५३ लाख दुई हजार रुपैयाँले बढेको हो । 

to-let-(8)-1747193812.jpeg
 

त्यसैगरी काठमाडौं महानगरपालिकाले लिँदै आएको व्यवसाय रजिष्ट्रेशन दस्तुर पनि एक करोड ८८ लाख ७२ हजार रुपैयाँले बढेको छ ।  यी तथ्यांकले व्यवसायीहरू पलायन नभएको देखाउँछ । बरू उनीहरूले आफ्नो व्यवसायलाई फरक ढंगबाट चलाएका छन् । 

व्यवसाय गर्नेहरू एक सेक्टरबाट अर्काे सेक्टरमा जाने र नयाँ सेक्टर आउने हुँदा त्यस्तो समस्या नरहेको ललितपुर महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईं बताउँछन् । 

to-let-(9)-1747193813.jpeg
 

“हाम्रो क्षेत्रमा व्यवसायीलाई समस्या परेको भन्ने सुनिएको छैन, घरखाली भएको कुरा पनि महानगरलाई जानकारी छैन,” उनले भने, “नयाँ–नयाँ सेक्टर आइरहेका छन् । महानगरको राजस्वमा पनि वृद्धि भइरहेको छ । तथ्यांकले पनि त्यस्तै देखाउँछ ।”

एउटै घरमा वर्षाैँदेखि बस्नुभन्दा सुविधा सम्पन्न घरमा अफिस सर्ने क्रम पनि बढेको छ ।  कुपण्डोल कानदेवताथान नजिकै रहेको नेपाल बैंकको शाखा कार्यालय त्यहीँ नजिकै बनेको नयाँ भवनमा सरेको छ ।

दश वर्षदेखि उक्त बैंकको कार्यालय एकै घरमा राखिएको थियो । तर, त्यस घरमा पार्किङ सुविधा र अफिसका लागि खुला ठाउँ नभएकाले नयाँ भवनमा कार्यालय स्थानन्तरण गरिएको शाखा प्रमुख चन्द्रगोपाल महर्जन बताउँछन् ।

to-let-(10)-1747193813.jpeg
 

“पहिले कार्यालय राखेको घरमा हामीले तीन फ्लोर लिएका थियौँ । त्यहाँ पार्किङको समस्या थियो । पार्किङसहितको नयाँ भनव नजिकै बनेकाले शाखा सारेका हौंं,” महर्जनले बाह्रखरीसित भने, “भाडा उस्तै–उस्तै छ । सेवाग्राहीलाई पार्किङको समस्या छैन, पहिले स्टाफलेसमेत पार्किङ गर्ने ठाउँ थिएन ।”

त्यस्तै अर्काे उदाहरण हो, गौशालाको रातोपुल नजिकैको काठमाडौं स्कुल फर मेडिकल टेक्नोलोजी (केएसएमटी) कलेज । यो कलेज बानेश्वरको थापागाउँ सरेको करिब एक वर्ष भयो ।

विद्यार्थी बढ्दै गएको र ठाउँ साँघुरो भएर नयाँ ठाउँ खोज्नु परेको केएसएमटीका निर्देशक प्रदीप श्रेष्ठ बताउँछन् । 

to-let-(11)-1747193813.jpeg
 

“हामीले स्कुल राखेको पहिलेको स्थानमा पछाडि पट्टिको खुल्ला ठाउँ मागेका थियौँ । तर, घरधनीले दिनुभएन । हामीलाई ठाउँ सानो भएकाले सर्नुपरेको हो,” श्रेष्ठले भने, “पछि घरधनीले घर बेच्नुभएको कुरा सुनाउनुभयो । हामीले नयाँ ठाउँको खोजी गरेर सरेका हौं ।”

गौशलामा पहिले केएसएमटी कलेज भएको भवनमा पनि ‘टु–लेट’को पर्चा झुन्ड्याइएको छ । यतिमात्र हैन ‘टु–लेट’ देखिएका खाली सटरका छेउछाउका व्यवसायीलाई सोध्दा लामो समयदेखि भाडा नलागेको बताउँछन् ।

घरधनीहरूले भाडा नघटाउने र नयाँ व्यवसायीले व्यवसाय गर्न आँट नदेखाउँदा छोडिएका घरहरू खाली भएका छन् । 

to-let-(12)-1747193813.jpeg
 

‘टु–लेट’ लेखिएका घरमा फोन गरेर बुझ्दा भाडा महँगो भन्ने गरेका छन् ।  सेवा सुविधा नबढाउने, वर्षेनी भाडा बढाउने गर्दा व्यापारिक केन्द्र मानिने ठाउँका घर धेरैले छोडेर नयाँ स्थान खोज्न बाध्य भएका हुन् ।  उद्योग व्यवसाय सञ्चालन गरेर पाइला–पाइलामा झमेला भोग्नुपरेको व्यवसायीहरू बताउँछन् । 

महँगो घरभाडा, व्यापार घट्नु र विदेश पलायन बढ्नुले पनि जताततै घर तथा सटर खाली हुँदै गएको नेपाल खाद्य किराना व्यवसायी संघका सचिव दिपककुमार फइजु बताउँछन् । 

“जसले काम गर्छ, उसले खपत बढी गर्छ,” उनले भने, “तर, खाने र काम गर्नेहरू सबै विदेश गएको अवस्था छ ।”  पुल्चोक हरिहरभवन नजिकै विगत सात वर्षदेखि फर्निचरको व्यवसाय गर्दै आएका नवीन श्रेष्ठले पुरै घर घाडामा लिएका थिए । 

to-let-(4)-1747193812.jpeg
 

तर, सात वर्षको अन्तरालमा दुई गुणा भाडा बढेपछि दुई तला छाडेर एक तलामा मात्र फर्निचरको व्यवसाय गरिरहेका छन् । समग्र अर्थतन्त्रमा परेको असरका कारण उनले खर्च घटाउन यो विकल्प रोजेको बताए ।  “पहिलेजस्तो बजारमा माग छैन । तर, भाडा बढिरहेको छ । मैले पुरै घर भाडामा लिएर फर्निचरको व्यवसाय गरिरहेको थिएँ । तर, समयअनुसार खर्च घटाएको हुँ,” श्रेष्ठले बाह्रखरीसित भने ।

उनी भन्छन्, “मैले छोडेपछि दुईवटै फ्लोर एक वर्षदेखि खाली छ । फेरि मागिरहेको छु । तर, घरधनीले बढेकै भाडामा सहमति खोज्नुभएको छ । म सम्भवतः अर्काे ठाउँमा सर्छु ।” 

एक पटक अफिस खोलेपछि अर्काे ठाउँमा त्यत्तिकै सार्न पैसा र समय लाग्ने भएकाले पनि घरधनीहरू भाडा बढाउँछन् ।  किनभने अर्काे ठाउँमा खर्च गर्ने पैसा भाडा बढाउँदा व्यवसायीले तिर्छन् भन्ने ठान्दै घरधनीले प्रत्येक वर्ष भाडा बढाइरहेका हुन्छन् । 

to-let-(5)-1747193812.jpeg
 

यसरी भाडा बढ्दा पनि व्यवसायीहरूलाई असर परेको छ ।  मान्छेसँग पैसा भए पनि खर्च कम गर्ने गरेको श्रेष्ठ बताउँछन् ।  जताततै अर्थिक मन्दी भाष्य सिर्जना हुँदा जनमानसमा खर्च गर्ने आँट घटेको हुन सक्ने उनको आकलन छ ।

“व्यापार पहिलेको तुलनामा घटेको छ । घरभाडा महँगो छ । कतिपयले व्यापारमा टिक्न हरप्रयास गरेका छन्,” उनले भने, “मान्छेसँग पैसा भए पनि भोली केही भई हाल्छ कि भन्ने सोचले खर्च नगरेको जस्तो लाग्छ ।” 

कतिपय ग्राहक सामान हेरेर मात्र फर्कने गरेको उनी सुनाउँछन् ।  “कतिपय आएर फर्निचर हेर्छन्, तर, चलेकै छ, पछि किनौँला भनेर फर्कन्छन्,” श्रेष्ठले भने । पछिल्लो समय अनलाइन व्यापार फस्टाउँदा पनि सटर लिएर सानो व्यवसाय गर्नेलाई असर परेको पाइएको छ । 

यसकै कारणले गर्दा पसल–पसलमा आएर सामान किन्नेहरू घटेको श्रेष्ठ बताउँछन् ।  उनीमात्र होइन कुपन्डोलमा विगत तीन वर्षदेखि जुत्ताको व्यापार गर्दै आएका कृष्णबहादुर रोकाको पनि भनाइ यस्तै छ । अनलाइनमार्फत् सामान बिक्री गर्नेहरू बढ्दै जाँदा व्यापार गर्न समस्या परेको रोका बताउँछन् । 

“पहिले दैनिक दुईदेखि तीन हजारको व्यापार हुन्थ्यो । दिनभरीमा तीन/चार सयको व्यापार हुन्छ,” रोकाले बाह्रखरीसित भने, “अनलाइनबाट सामान मगाउने बढेका छन् । पछिल्ला दिनमा पसलसम्म मान्छे आउन छाडेका छन् ।” 
सानो सटर भाडामा लिएर उनी जुत्ता बेच्ने र मर्मत गर्दै आएका छन् । उनकै पसलसँग जोडिएको अर्काे पसलेले सामानसँगै पसल नै छाडिदिए । 

to-let-(6)-1747193812.jpeg
 

“मेरो पसलसँगै साडीको पसल थियो । त्यो पसल सञ्चालन गर्ने श्रीमान् बिरामी भयो भनी घर गइन्, तर फर्किएर आइनन्,” उनले भने, “भाडा तिर्न पनि तीन/चार महिनाको बाँकी रहेछ । सामानसहित घरधनीले लिए । भाडामा लगाउन खोजिरहेका छन् ।” 

पसलको भाडाअनुसार, व्यापार नभएको रोका बताउँछन् ।  केही समय हेर्ने, यस्तै रहिरहे पसल बेचिदिने उनको पनि सोच छ ।  कोभिडपछि प्रत्येक वर्ष यो क्षेत्रको योगदान वृद्धिदर बढ्दै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ ले पनि यस्तै देखाउँछ ।

आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको योगदान १४.०९ प्रतिशत थियो ।  गत आर्थिक वर्ष २०८०/८१ मा यो क्षेत्रको योगदान १३.८४ प्रतिशत रहने अनुमान गरिएको थियो । 

पछिलो दशक यस क्षेत्रको औसत वृद्धिदर ३.७५ प्रतिशत र कुल गार्हस्थ उत्पादनमा औसत योगदान १५.१६ रहेको सर्वेक्षणमा उल्लेख छ । पछिल्ला वर्षहरूमा व्यवसायीहरूले नाफा कमाउनभन्दा आफ्नो व्यवसाय टिकाउन खोजिरहेको अवस्था छ । 

कुपण्डोल क्षेत्रका अन्य पसलका सञ्चालकहरू पनि पहिले जस्तो व्यपार नभएको बताउँछन् ।  व्यापार टिकाउन अनेक छुट दिँदै ग्राहक तान्ने गरेको नेष्ट डेकोरका सञ्चालक निरोज भुसाल बताउँछन् । “व्यापार टिकाउन थोरै नाफा राख्दै ‘अफर’मा सामान बिक्री गरिरहेका छौँ,” भुसालले भने, “कतिपय त टिक्नै नसकेर पलायन पनि भएको अवस्था छ । व्यवसाय नै छैन भन्दा हुन्छ ।”

सरकारलाई चैतमा बुझाएको पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले पनि यही देखाएको छ । विगत १० वर्षको अवधिमा उपभोगको औसत ११.३ प्रतशितको वार्षिक वृद्धिदर घटेको प्रतिवेदनमा उल्लेख छ । उपभोग गएका दुई वर्षको अवधिमा क्रमशः ६.५ प्रतिशत र ६.४ प्रतिशतमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ को वर्ष सन् २०१६/१७ मा समेत कुल उपभोगमा कुनै कमी नआएर १२.२ प्रतिशतले वृद्धि भएको अवस्थमामा गत दुई वर्षमा ४० प्रतशितभन्दा धेरैले वृद्धिदर घटेको खनाल प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनले पनि साना तथा मझौला व्यवसाय सञ्चालन गरेका कतिपय व्यवसायी पलायन भएको प्रतिवेदनमा उल्लेख गरेको छ । 

“साना तथा मझौला व्यवसाय सञ्चालन गरेका कतिपय व्यवसायी पलायन भएका छन् । आम रूपमा मुलुकभर उद्योगी–व्यवसायीहरूले कठिन परिस्थिति सामना गरिरहेको बताउँछन्,” प्रतिवेदनमा उल्लेख छ ।

आममानिसहरू पनि निराश भएको अवस्था रहेकाले आर्थिक गतिविधि चलायमान नभएको प्रतिवेदनले देखाएको छ । “कोभिड–१९ को महामारीका बेला मानिसहरू महिनौं घरभित्र बिताउन बाध्य भए । अस्थायी रोजगारी भएका लाखौं मानिसहरू शहरमा बस्न नसक्ने भएर गाउँ फर्के । मानिसहरू ती सबै समयमा यति निराश थिएनन् जति देखिन्छन्,” प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार, “यो निराशाले उपभोग र लगानी प्रभावित भएको छ । आर्थिक गतिविधि मात्र प्रभावित भएको होइन, आमनिराशा राजनीतिक दल, नेतृत्व र सार्वजनिक संस्थाहरू प्रति आक्रोशको रूपमा प्रकट भएको देखिन्छ ।” 

to-let-(7)-1747193812.jpeg
 

व्यवसायीहरू सरकारप्रति त्यति सकारात्मक देखिँदैनन् । तीन तहको सरकार बनेको र त्यही अनुसार कर बढ्दै गएकाले व्यवसायी असन्तुष्ट छन् । नयाँ उद्यम प्रारम्भ गर्ने युवाहरूले व्यवसाय कहाँ दर्ता गर्ने भन्ने स्पष्ट नभएको बताउँछन् । प्रतिवेदन तयार गर्दा ‘एक मुलुक एक दर्ता’ किन गराउन सकिन्न ? भन्ने प्रश्न गरेको खनालको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी बेला–बेला हुने नीतिगत परिवर्तनले गर्दा पनि उद्योगी व्यवसायीलाई काम गर्न असहज भएको बताउँछन् । यसका साथै राज्यका निकायहरूले व्यापार व्यवसायीलाई असाध्यै दुःख दिएको पनि बताउँछन् ।

बजार नियमन, राजस्व चुहावट नियन्त्रण जस्ता कामका लागि एकभन्दा बढी निकाय फरक–फरक समयमा आउने, तथ्यको विश्लेषण र छानबिनअघि धरपकड तथा तालाबन्दी गर्दा व्यवसायी त्रसित हुनुपरेको प्रतिवेदनमा उल्लेख छ । 

साना तथा मझौला व्यवसायीहरूले दिएको व्यापारिक उधारो असुली हुन नसकेकाले पनि समस्या निम्तिएको छ ।  व्यक्तिको हातमा पैसा नहुँदा माग पक्ष कमजोर हुन गएको पनि प्रतिवेदनमा उल्लेख छ ।

तस्बिर– हरिशजंग क्षेत्री
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्