site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१९ च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौं । साफ यू–१९ च्याम्यिनसिपमा समूह ‘बी’ को खेलमा नेपाली युवा टिमले भारतसँग लज्जास्पद हार बेहोरेको छ ।

मंगलबार भारतको यूपीयास्थी गोल्डेन जुब्ली रंगशालामा सम्पन्न खेलमा नेपाली टिम ४–० ले पराजित भएको हो । हारका बाबजुद नेपाली टिम समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ  ।

मंगलबार भारतलाई जित दिलाउन रोहेन सिंहले दुई गोल गरे । यस्तै, ओमाङ डोडुम र ड्यानी मेईतेईले समान एक–एक गोल गरे ।

खेलको २८औँ मिनेटमा रोहेनले टोलीलाई अग्रता दिलाए । २९औँ ओमाङले अग्रतालाई दोब्बर बनाए । ७६औँ मिनेटमा रोहेनले अर्को गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्‍याए । ८४औँ मिनेटमा ड्यानीले टोलीको अग्रतामा एक गोल थपे ।

जितसँगै भारत भने शतप्रतिशत नतिजासहित ६ अंकका साथ समूह विजेता बन्यो । समूह चरणमा भारतले यसअघि श्रीलंकालाई ८–० ले पराजित गरेको थियो । नेपालले भने श्रीलंकाविरुद्ध ५–० को जित निकाल्दै समूह चरणमा तीन अंक मात्र जोड्न सक्यो ।

अब नेपालले सेमिफाइनलमा बंगलादेशको सामना गर्नेछ । आगामी मे १६ (शुक्रबार)मा नेपाल र बंगलादेशबीचको खेल हुने तालिका छ । यस्तै, प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतले माल्दिभ्सविरुद्ध खेल्ने तय भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्