
काठमाडौं । दोस्रो कोसी प्रदेशस्तरीय खुला पौडी प्रतियोगितामा नौ वर्षीया आयुशा पौडेलले आठ पदक जितेकी छन् ।
कोसी प्रदेशको इटहरीमा ‘खेलकुद नै स्वास्थ्यको मूल आधार हो’ नारासहित आयोजना भएको प्रतियोगितामा नौ वर्ष पाँच महिना मात्रै पुगेकी आयुशाले विभिन्न आठ इभेन्टमा आठ पदक जितेकी हुन् । उनले प्रतियोगितामा सात रजत पदक चुम्दा एक कांश्य पदक जितिन् । आयुशाले प्रतियोगितामा ताप्लेजुङको प्रतिनिधित्व गरेकी थिइन् ।
उनले यी आठ पदक जित्दा प्रदेशका १४ जिल्लाका करिब १६० खेलाडीहरूसँगै प्रतिस्पर्धा गरेकी थिइन् ।
प्रतियोगिता इटहरीमा वैशाख २९ र ३० गरी दुई दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगिताको दोस्रो संस्करणमा कुल २३ वटा इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा टिम इभेन्टतर्फ प्रथम हुने टोलीलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार दिइएको छ । यस्तै, रिले इभेन्टमा क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ प्रदान गरिँदा व्यक्तिगत इभेन्टतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।