
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा रहेका अफगान नागरिकका लागि टेम्पोररी प्रोटेक्सन स्ट्याटस (टीपीएस) खारेज गरेको छ । तालिबानले शासन गरेको अफगानिस्तानमा अवस्था सुधारिएकाले अब थप मानवीय संरक्षणको आवश्यकता नपर्ने ट्रम्प प्रशासनको निष्कर्ष छ ।
यस निर्णयले सन् २०२१ मा अफगानिस्तानमा तैनाथ अमेरिकी फौज फिर्ता गरेपछि देश छाडेका हजारौँ अफगान प्रभावित हुने बताइएको छ ।
अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यस निर्णयको बचाउ गरिन् । “अफगानिस्तानको सुरक्षा अवस्था सुधारिएको छ । स्थिर अर्थतन्त्रले उनीहरूले आफ्नो देश फिर्ता जान रोक्ने अवस्था नरहेकाले प्रशासनले टीपीएसलाई फिर्ता लिएको हो,” उनले भनिन् ।
उनले अफगानिस्तानको सुरक्षा र अर्थतन्त्र स्थिर भएको दाबी गर्दै भनिन्, “सहयोगको आवश्यकता भएकाहरूको संख्या गत वर्षको २९ मिलियनको तुलनामा यस वर्ष २३.७ मिलियनमा झरेको छ ।”
टीपीएस खारेज गर्ने निर्णय आधिकारिकरूपमा जुलाई १२ मा समाप्त हुनेछ । त्यसअघि ६० दिने अवधि दिइनेछ । सीबीएस न्युजका अनुसार, १४ हजारभन्दा बढी अफगान अझै टीपीएसअन्तर्गत छन् । जबकि केहीले शरण वा विशेष आप्रवासी भिसा प्राप्त गरिसकेका छन् ।
आलोचकहरूले यस निर्णयलाई असावधान र राजनीतिक उद्देश्यले प्रेरित भनेर निन्दा गरेका छन् । अधिवक्ता समूह ३ अफगान इभ्याकका अध्यक्ष सान भ्यानडाइभरले द हिलमा उद्धृत गरिएको बयानमा भने, “यस नीतिले हामीलाई सुरक्षित बनाउँदैन, यसले परिवारहरूलाई छिन्नभिन्न पार्छ । जीवन अस्थिर बनाउँछ र हाम्रो नैतिक विश्वसनीयताको अवशेष पनि नष्ट गर्छ ।”
टाइम्स अफ इन्डियाबाट ।