
काठमाडौं । कर्नाटक प्रहरीले बिहीबार चिन्नास्वामी रंगशाला बाहिर भएको भागदौडको घटनामा मुद्दा दायर गरेको छ । यसमा रोयल च्यालेन्जर्स बैंगलुरु, कार्यक्रम आयोजक कम्पनी डीएनए र कर्नाटक क्रिकेट संघको नाम समावेश छ ।
कर्नाटक प्रहरीले तीन संस्थाविरुद्ध बीएनएसको धारा १०५, ११८ र १२० अन्तर्गत मुद्दा दर्ता गरेको हो । जसमा आपराधिक हत्या र गम्भीर चोट पुर्याउने कसुर समावेश छ ।
बैंगलोरको चिन्नास्वामी रंगशाला बाहिर बुधबार भागदौड हुँदा ११ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । उनीहरू रोयल च्यालेन्जर्स बैंगलुरुले १८ वर्षपछि आईपीएल ट्रफी जितेको खुसियाली उत्सव मनाउन आएका थिए ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार चिन्नास्वामी रंगशालाको गेटमा भागदौड मच्चिएको थियो । घटना हुँदा रंगशालाको गेट नखुलेको र ठूलो संख्यामा रहेका मानिसहरूले गेटलाई धकेलेर तोड्ने प्रयास गर्ने क्रममा भागदौड मच्चिएको उनले बताए ।