
काठमाडौं । स्पेनिस ला लिगाको बहुचर्चित खेल 'एल क्लासिको'मा बार्सिलोनाले रियाल मड्रिडविरुद्ध पहिलो हाफमा ४–२ को अग्रता बनाएको छ । आइतबार बार्सिलोनाको घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्टाउँदै घरेलु टिमले खेलमा ४–२ को अग्रता बनाएको हो ।
पाँचौँ मिनेटमा प्राप्त पेनाल्टीलाई किलियन एम्बापेले सदुपयोग गरेपछि रियालले सुरुआतमै अग्रता बनाएको थियो । १४औँ मिनेटमा एम्बापेले नै गोल गरेपछि रियालले २–० को अग्रता बनाएको थियो । तर, यसपछि बार्सिलोनाले लगातार चार गोल गर्दै खेलमा पुनरागमन गरेको हो ।
१९औँ मिनेटमा एरिक गार्सियाले गोल गर्दै बार्सिलोनालाई २–१ को स्थितिमा ल्याए । ३२औँ मिनेटमा लामिन यमले गोल गरेपछि बार्सिलोना खेलमा फर्कियो । त्यसको दुई मिनेटपछि नै बार्सिलोनाबाट राफिन्हाले तेस्रो गोल गरे ।
पहिलो हाफको अन्तिम मिनेटमा राफिन्हाले नै दोस्रो गोल गरेपछि बार्सिलोनाले ४–२ को अग्रता बनाएको हो ।
ला लिगा उपाधि दौडमा कायम रहन रियाललाई आज जितको दबाब छ । यता बार्सिलोना पनि आजको खेल जित्दै शीर्षस्थानको अग्रतालाई सात अंकमा पुर्याउने लक्ष्यमा छ ।