
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का तर्फबाट राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की आछामीले विगतका सरकारले निरन्तरता दिएको दलितसँग सम्बन्धित कतिपय विषय नीति तथा कार्यक्रमबाट हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार (वैशाख २८) राष्ट्रिसभा बैठकमा आउँदो आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले शक्तिशाली र अधिकारसम्पन्न दलित प्राधिकरण गठन गर्ने विषयको बुँदा नम्बर २१३ हटाइनु गलत भएको बताए । सबैतिर आर्थिक समस्या भइरहेको समयमा दलितको परम्परागत सीप र अनुभवलाई संस्थागत गरी पुँजी बजारमा जोड्न सकिने विषय हटाइनु दुःखद भएको उनले उल्लेख गरे ।
“युवालक्षित विशेष गरी वैदेशिक रोजगारमा गएका युवाहरूको श्रम, सीप, ज्ञान र पुँजीको सदुपयोग गर्ने र नेपालमै पुँजी निर्माणको वातावरण बनाउने हिसाबले विगतका सरकारले ल्याएको केही प्रावधानहरू थिए, त्यो पनि हटाइएको छ,” उनले भने ।
सरकारको नेतृत्वप्रति जनताले हेर्ने दृष्टिकोण नकारात्मक रहेको भन्दै उनले नसच्चिए देश दुर्घटनाको नजिक भएको टिप्पणी गरे । सम्भावित जटिल परिस्थितिबाट देशलाई जोगाउन सबै राजनीतिक दलले छलफलमार्फत समझदारी कायम गर्नुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल