
काठमाडौं । हमासका एक वरिष्ठ अधिकारीले गाजामा युद्धविरामको लागि वार्ता गर्नु वा बन्धकहरूलाई रिहा गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।
इजरायलले गाजामा ठूलो सैन्य कारबाही सुरु गर्ने योजनालाई अनुमोदन गरेको बेला यो विषय आएको हो ।
हमासका अधिकारी बसेम नैमले बीबीसीलाई बताएअनुसार इजरायलले भोकमरीको युद्ध जारी राखेसम्म हमासले कुनै नयाँ सम्झौतामा वार्ता गर्ने छैन ।
सोमबार, इजरायली सेनाले अपरेसनको लक्ष्य बन्धकहरूलाई उद्धार गर्नु र हमासलाई पूर्ण रूपमा पराजित गर्नु रहेको बताएको छ ।
इजरायली अधिकारीहरूले भनेका छन्, "यस कारबाहीमा गाजाको अधिकांश जनसंख्या हटाउने, महत्त्वपूर्ण सहायता जफत गर्ने र दुई महिना लामो नाकाबन्दी लम्ब्याउने समावेश हुनेछ ।"
संयुक्त राष्ट्रसंघले नाकाबन्दीका कारण गाजामा गम्भीर खाद्यान्न अभाव भएको बताएको छ ।
इजरायलले थप भनेको छ, "अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को हप्ता हुने क्षेत्रीय भ्रमणपछि यो अपरेसन सुरु गरिनेछ । त्यतिन्जेलसम्म हमाससँग सम्झौतामा पुग्ने मौका छ ।"
यद्यपि, मंगलबार बसेम नईमले हमास अब कुनै पनि नयाँ वार्तामा भाग नलिने स्पष्ट पारेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको सैन्य कारबाही बढेमा गाजामा ठूलो संख्यामा सर्वसाधारण मारिने चेतावनी दिएका छन् ।