
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले च्यासल युथ क्लबविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आरसीटीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गरी तीन गोलको अग्रता बनायो ।
खेलको ११औँ मिनेटमा आरसीटीका अजित गुरुङले टोलीलाई अग्रता दिलाए । ४२औँ मिनेटमा अभिषेक भोलानले अग्रतालाई दोब्बर बनाए । ७१औँ मिनेटमा सञ्जय लिम्बुले गोल गर्दै टोलीको अग्रता ३–१ को अवस्थामा पुर्याए ।
खेलको पहिलो हाफको इन्जुरी समयमा च्यासलका आश्विन घोरासैनीले जवाफी गोल फर्काएका थिए । ८४औँ मिनेटमा आशिष थारूले गोल गर्दै टोलीलाई ३–२ को अवस्थामा ल्याए । तर, आशिषको गोल टोलीका निम्ति खेलमा पुनरागमन गर्न पर्याप्त नभएपछि आरसीटीले जित पक्का गरेको हो ।
जितसँगै आरसीटी लिगको नवौँ स्थानमा उक्लेको छ । आरसीटीले तेस्रो जित निकाल्दै कुल १० खेलमा तीन जित, दुई बराबरी र पाँच हारसहित ११ अंक बनाएको छ ।
पराजित च्यासलले चौथो हार बेहोर्दै दुई बराबरी र चार जितबाट १४ अंक बनाएको छ । पराजित रहे पनि च्यासल छैटौँ स्थानमा यथावत् छ ।