
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नीति तथा कार्यक्रमबारे बोल्न प्रतिनिधिसभाको रोष्ट्रमतिर अघि बढेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रोक्दै भलाकुसारी गरे ।
प्रचण्डले नीति तथा कार्यक्रमसँगै सरकारमाथि कडा टिप्पणी गर्दा प्रधानमन्त्री ओलीको ‘बडील्याङवेज’ भन्थ्यो, उनी आलोचनाबाट क्रुद्ध छन् । तर, रोष्ट्रमबाट जब प्रचण्ड आफ्नो आसनतिर फर्किंदै थिए, प्रधानमन्त्रीको कुटिल हार्दिकता पुनर्जागृत भइसकेको थियो ।
संसद्मा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षबीच हार्दिकता सकारात्मक पक्ष हो । तर, बैठक चलिरहेका बखत मुस्कुराउने, हात मिलाउनेबाट अघि बढेर हात समाएर भलाकुसारी हुनुको अर्थ खोज्नु अस्वाभाविक होइन । उक्त भलाकुसारीका तस्बिर संसद् सचिवालयभन्दा अगावै प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक भयो । अनि प्रचण्डलाई गाली गर्ने समूहबाटै सामाजिक सञ्जालमा ‘भाइरल’ बनाइयो ।
उनीहरूले सोमबारको तस्बिरलाई अनेक सकारात्मक शीर्षक दिएका छन् । कतिपयले त भाइरल गीत ‘उनको स्वीस्टर’को प्रयोग गरेका छन् ।
ओलीको ‘अरिंगाल समूह’ पहिचान बनाएको समूहले ‘धान सुक्यो रापले, बोलाउँछ काफ्ले जानु कि नजानू...’ भन्दै तस्बिर सार्वजनिक गरे । प्रचण्डका आलोचकहरू एकाएक समर्थकमा परिणत हुनुमा उनीहरू स्वयं नभइ प्रधानमन्त्रीको सचिवालयको भूमिका देखिनेगरी भएको छ ।
प्रधानमन्त्री ओली र प्रचण्डबीच आइतबार पनि भेटवार्ता भएको थियो । भेटवार्तामा प्रचण्डसँगै आएका माओवादीका उपमहासचिव र प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्निप्रसाद खरेल थिए ।
प्रधानमन्त्री आफ्ना लागि राखिएको कुर्सी छाडेर प्रचण्डसँग नजिक हुने गरी तलै झरेर बसेका छन् । यस्तो दृश्य पनि प्रधानमन्त्रीकै सचिवालयबाटै सार्वजनिक तस्बिरमा देखियो । तर, आइतबार साँझ ओलीले पुनः कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे । दिउँसो प्रचण्डसँग सिंहदरबारमै भेटे भने साँझ देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका हुन् ।
देउवासँगै गृहमन्त्री रमेश लेखक सहभागी थिए । तर, देउवासँग भेट्दा प्रधानमन्त्रीको सचिवालयले तस्बिर सार्वजनिक गरेन ।
प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार खरेलले दुवै भेटमा संक्रमणकालीन न्यायमा आफूले ‘बिफ्रिङ’ गरेको बताएका छन् । उनले राजनीतिक विषयमा कुराकानी भएको विषय इन्कार गरेका छन् । “भेटवार्तामा अन्य राजनीतिक विषय प्रवेश भएन, पूर्णतः संक्रमणकालीन न्यायमा केन्द्रित थियो,” खरेलले बाह्रखरीसँग भने ।
खरेलले संक्रमणकालीन न्यायका सम्बन्धमा छलफल भएको बताए पनि कांग्रेस र माओवादीसँग छुट्टाछुट्टै छलफल गर्नुपर्ने आवश्यकताबारे प्रस्ट पारेनन् । तर, गृहमन्त्रीनिकट स्रोतले भने ओली र देउवाबीच गभर्नर नियुक्तिबारे कुराकानी भएको जानकारी दिएको छ । वैशाख ७ मा थाइल्यान्ड जानुअघि गभर्नरमा कांग्रेसबाट सिफारिस भएका व्यक्ति नियुक्त गर्ने समझदारी ओली र देउवाबीच भएको थियो ।
यसबीचमा नियुक्तिको प्रक्रिया अघि नबढेपछि देउवाले नै आइतबारको भेटमा चासो राखेका थिए । “कांग्रेसको सिफारिसअनुरुप गभर्नर नियुक्त गर्ने समझदारी भएको छ । तर, सिफारिस प्रक्रियाका कारण यो दिन नै नियुक्ति हुन्छ भनी प्रधानमन्त्रीले मिति तोक्नुभएको छैन,” कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने, “हिजोको भेटमा त्यसबारे कुरा भएको हो । तर, मिति तोकिएको छैन ।” संक्रमणकालीन न्यायमा मात्र भेटवार्ता सीमित नभएको संकेत ओली–प्रचण्डको तस्बिरप्रतिको ‘प्रेम’ले देखाउँछ ।
विश्लेषक डा. विष्णु दाहाल प्रचण्डसँगको भेट, सार्वजनिक तस्बिर र समर्थकहरूको प्रशंसालाई ‘तस्बिर राजनीति’ भनी टिप्पणी गर्छन् ।
“ओलीलाई के थाहा छ भने अब ११ महिना बसे पनि एक महिनामै गए पनि प्रधानमन्त्री पद अस्थायी हो । तर, गर्भनर आफ्नो भयो भने सरकारबाहिर बसेर पनि व्यापारीहरूलाई थर्काउनेदेखि आफ्नो अनुकूलमा चलाउन सकिन्छ भन्ने हिजोको ताजा अनुभव छ,” डा. दाहालले भने, “त्यसैले उनी जुनसुकै हालतमा गर्भनर आफ्नो पक्षमा राख्न चाहन्छन् ।”
उनले प्रचण्डसँग निकटता र तस्बिर राजनीति पनि त्यसैका लागि भइरहेको बताए । “कांग्रेसले गभर्नर हामीले लिन्छौँ भनेपछि प्रधानमन्त्रीले नियुक्तिमा ढिलाइ गरिरहेका छन् । सिफारिस समितिका प्रक्रियासहितका विषय बहाना मात्र हुन् । मुख्यकुरा ओली गभर्नर छाड्न तयार छैनन्,” डा. दाहालले भने ।
गभर्नर छाड्नुपर्ने बाध्यता आए ओलीले प्रचण्डसँगकै सहकार्यमा सरकार निर्माणको प्रयास पनि गर्ने बताए । तर, सरकार धेरै दिन टिक्ने आधार नदेखिएको उनको बुझाइ छ । “तत्काल सरकार परिवर्तन हुने अवस्था थियो तर, प्रमुख दलका तीन शीर्ष नेता राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै रुचिमा परेनन्,” डा. दाहालले भने, “कांग्रेस–एमाले सहमति अनुसारको अवधिसम्म त सरकार टिक्दैन ।”
एमालेका एक सांसद कांग्रेसको एउटा तप्काले सरकार बनेकै दिनदेखि असहयोग गरेका कारण अपेक्षाअनुसार गति लिन नसकेको स्वीकार गर्छन् । उनी कांग्रेसमा सरकारप्रतिको आलोचना गर्ने संख्या बढ्दै गएको अवस्थामा एमालेमा पनि त्यसको प्रभाव देखिन थालेको बताउँछन् ।
“कांग्रेसभित्र सरकारविरुद्ध मत राख्नेको संख्या बढ्दो क्रममा देखिँदैछ,” ती सांसद भन्छन्, “यी सबै विषय सरकारका लागि प्रतिकूल बनिरहेको छ ।”
उनले कांग्रेस र एमालेका मूल नेतृत्वविरुद्ध ‘आक्रमण’ जारी रहे फेरि दुर्घटना हुनसक्ने संकेत गरे । “कि त संसद् नै जानुपर्यो, होइन भने यो सरकारको विकल्पबाट के भेट्ने हो र ?,” उनले प्रश्न गर्दै भने, “हैन भने कांग्रेस र एमालेले आफ्ना कार्यसमितिबाट अनुमोदन गरेको सातबुँदे बमोजिम अघि बढ्नुको विकल्प छैन । आफ्ना नेतालाई सफल बनाउन लाग्नुको विकल्प छैन ।”