
काठमाडौं । काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अनिश्चित भएको छ । बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो तर, हालसम्म बस्न सकेको छैन ।
समितिका सदस्य–सचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । तर, बैठकबारे गुरागाईंलाई पनि कुनै जानकारी दिइएको छैन । "महानगरका यस्ता बैठकहरूमा प्रमुख प्रशासकीय अधिकृत हुनुपर्छ । तर, मलाई केही जानकारी छैन," गुरागाईंले भने ।
मेयरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नै 'बाइकट' गरेर बैठक राख्न खोजेको चर्चा पनि चलेको छ । मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयका अनुसार, मेयरले पहिलेदेखि नै कोसिस गर्दै आएको तर, अन्य प्रतिनिधि उपस्थित नहुँदा बैठक बस्न सकेको छैन । "मेयरसाबले पहिलेदेखि नै कोसिस गरिरहनु भएको थियो । तर, हालसम्म पनि बैठक बस्न सकेको छैन," सचिवालय स्रोतले भन्यो ।
महानगरका एक अधिकारीका अनुसार, गुरागाईंले तोक लगाएका फाइलहरू मेयरले अघि बढाउने र मेयरले अघि बढाएका फाइलहरू गुरागाईंले रोक्दैनन् । "महानगरभित्र फाइलहरू एकअर्काको टेबलमा पुग्ने काम हुने तीनै प्रमुख प्रशासकीय अधिकृतसँग कार्यपालिका बैठक नबस्ने ? व्यक्तिसँगको कुरा होइन । प्रमुख प्रशासकीय अधिकृतको पदसँगको कुरा हो," ती अधिकारीले भने ।
६ महिना लामो विवादका कारण महानगरमा कार्यपालिका बैठक समेत बस्न सकेको छैन । अन्य महानगरपालिकामा बजेट बनाउने चटारो चलिरहँदा काठमाडौंमा भने राजनितिक सहमति नै जुट्न सकेको छैन । स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने कानुनी प्रावधान छ ।
महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार, अझै पनि बैठकको टुंगो लागिसकेको छैन । "बैठक त बस्नैपर्छ, तर, हालसम्म कुनै टुंगो लागेको छैन । प्रमुख प्रशासकीय अधिकृतविना हुँदैन," काफ्लेले भने ।
महानगरमा यही बैठकका विषयमा रस्साकस्सी नै चलेको छ । उपमेयर, कार्यपालिका सदस्य र सदस्यहरूले कार्यपालिका बैठक बोलाउन, राख्न माग गर्दै आएका छन् ।
बालेन अघिल्लो सातादेखि उपमेयर, प्रवक्ता र वडाअध्यक्षहरूसँग निरन्तर भेटघाटमा थिए । तर, पछिल्लो तीनदिनदेखि भेट भएको छैन ।
मंगलबार दिउँसो ३ बजे पनि राष्ट्रिय सभागृहमा बैठक बस्ने भनिएको थियो । सो बैठकमा जनप्रतिनिधिहरूको अनुपस्थिति रहयो ।
यदि मेयरले प्रमुख प्रशासकीय अधिकृतलाई नै बाइकट गरेर बैठक बोलाएमा त्यसको कुनै कानुनी वैधानिकता नहुने कार्यपालिका सदस्यहरूको भनाइ छ ।