site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुस–युक्रेन युद्धमा ठूलो मोड : पुटिनले सुरक्षा ग्यारेन्टीमा जनाए सहमति

काठमाडौं । रुस र युक्रेनबीच तीन वर्षदेखि जारी युद्धमा ठूलो कूटनीतिक पहल गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा भएको बैठकमा रुसले पहिलोपटक अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई नेटोको अनुच्छेद ५ जस्तै सुरक्षा ग्यारेन्टी दिन सक्ने स्वीकार गरेको खुलेको छ । यो जानकारी बैठकमा सहभागी ट्रम्पका प्रतिनिधि स्टिभ विटकोफले यो आइतबार  दिएका हुन् ।

नेटोको अनुच्छेद ५ अनुसार, कुनै एक सदस्य राष्ट्रमा आक्रमण गरिए संगठनमा आबद्ध सबै देशमाथि हमला गरिएको मानिन्छ । र, सदस्य राष्ट्र सबैले उसको रक्षा गर्ने प्रावधान छ । युक्रेनले लामो समयदेखि यस्तो सुरक्षा ग्यारेन्टीको माग गर्दै आएको छ ।

‘गेम चेन्जर’ कदम : विटकोफ
विटकोफले रुस पहिलोपल्ट यस्तो सुरक्षा ग्यारेन्टीमा सहमत भएको बताए । उनले यसलाई ‘गेम चेन्जर’ अर्थात् परिस्थिति बदल्ने कदमको संज्ञा दिए ।

उनले भने, “अमेरिकाले ठूलो उपलब्धि हासिल गरेको छ, जसानुसार युक्रेनलाई नेटोको अनुच्छेद ५ जस्तै सुरक्षा ग्यारेन्टी दिइनेछ, ताकि भविष्यमा युक्रेनमाथि कुनै आक्रमण नहोस् ।”

अरू सहमति
विटकोफ सीएनएन च्यानलको स्टेट अफ द नेसन कार्यक्रमलाई बताएअनुसार, रुसले भविष्यमा कुनै पनि युरोपेली देशको सीमा उल्लंघन नगर्ने र युक्रेनको थप भू–भाग नलिने लिखित प्रतिबद्धता जनाएको छ ।

रुसका तर्फबाट पहिलोपटक यस्तो भरोसा हो । अब अमेरिका र युरोपेली देशहरूले यो साता युक्रेनलाई प्रदान गरिने सुरक्षा ग्यारेन्टीको व्यवस्था कसरी गर्ने भन्ने निर्णय गर्नेछन् । यो ग्यारेन्टी कसरी कार्यान्वयन र कसको जिम्मेवारी के हुने भन्ने विषयमा छलफल गरिनेछ ।

मार्को रुबियो के भन्छन् ?
अलास्का बैठकमा सहभागी अमेरिकी विदेशमन्त्री तथा ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोले भनेका थिए, “हामी अझै शान्ति सम्झौताको नजिक छैनौँ, तर यो ठूलो प्रगति हो ।” 

आइतबार विभिन्न टीभी अन्तर्वार्तामा उनले युक्रेन उक्त बैठकमा सहभागी नभएकाले युद्धविराममा सहमति हुन कठिन भएको बताए । तर, अब थप वार्ताका निम्ति तयार भएको उनले उल्लेख गरे ।

ट्रम्प र जेलेन्स्कीबीचको भेट आज
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र केही युरोपेली नेताले आज ह्वाइट हाउसमा ट्रम्पसँग भेट्दै छन् । यो बैठकमा सुरक्षा ग्यारेन्टी र शान्ति सम्झौताबारे गहन छलफल गरिनेछ ।

जेलेन्स्कीले भने, “हामीलाई खुसी छ कि अमेरिकाले यो विषयमा विचार गरिरहेको छ । तर, यो ग्यारेन्टी कसरी काम गर्छ भन्ने अझै स्पष्ट छैन । हामीलाई यस्तो सुरक्षा चाहिन्छ, जुन कागजमा मात्र नभई वास्तविक रूपमा प्रभावकारी होस् ।”

बैठकमा रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गरिनेछ । भू–भागसम्बन्धी मुद्दा मुख्य रहने अपेक्षा गरिएको छ ।

“रुससँग ठूलो प्रगति भएको छ,” ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, “पर्खनुहोस्, थप जानकारी आउँदै छ !”

युरोपको समर्थन
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले अमेरिकाको यो पहलको स्वागत गरेकी छन् । उनले युरोपेली संघ पनि युक्रेनको सुरक्षाका निम्ति सहयोग गर्न तयार रहेको बताएकी छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सुरक्षा ग्यारेन्टीको नामभन्दा पनि त्यसको वास्तविक शक्ति र प्रभाव महत्त्वपूर्ण भएको बताए ।

अमेरिकाप्रति जेलेन्स्कीको आभार, तर सुरक्षा ग्यारेन्टीको कार्यान्वयन अस्पष्ट
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले सुरक्षा ग्यारेन्टीको समर्थन गर्ने संकेत गरेकामा आभार व्यक्त गरे, तर धेरै विषय अझै अस्पष्ट रहेको बताए ।

“यो ग्यारेन्टी कसरी कार्यान्वयन हुन्छ, अमेरिकाको भूमिका के हुन्छ, युरोपको भूमिका के हुन्छ र युरोपेली संघले के गर्न सक्छ भन्ने कुनै विवरण छैन । हाम्रो मुख्य काम भनेको सुरक्षा ग्यारेन्टी नेटोको अनुच्छेद ५ जस्तै व्यवहारमा प्रभावकारी हुनुपर्छ,” उनले भने ।

युद्धविरामबाट शान्ति सम्झौतातर्फको बदलावको समर्थन
ट्रम्पका प्रतिनिधि स्टिभ विटकोफ र विदेशमन्त्री मार्को रुबियोले युद्धविरामको प्रयास छाडेर पूर्ण शान्ति सम्झौतातर्फ केन्द्रित हुने उनको निर्णयको बचाउ गरेका छन् । विभिन्न समाचार च्यानलसँगको कुराकानीमा रुबियोले अलास्का शिखर सम्मेलनमा धेरै प्रगति भएकाले यस्तो बदलाव आएको तर्क गरे ।

“हामीले शान्ति सम्झौताका निम्ति आवश्यक लगभग सबै मुद्दाहरू समेट्यौँ,” विस्तृत विवरण नदिई विटकोफले भने, “रुसले अन्तिम शान्ति सम्झौतामा पुग्ने सोचमा केही लचकता देखाउन थालेको छ ।”

रुबियोले आइतबार विभिन्न टेलिभिजन समाचारमा भने, “शुक्रबार युद्धविराम सम्भव थिएन, किनभने युक्रेन त्यहाँ उपस्थित थिएन । यदि, शान्ति सम्झौता भएन वा युद्ध अन्त्य भएन भने राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा दुष्परिणामहरू हुने बताएका छन् । तर, हामी त्यसलाई रोक्ने प्रयासमा छौँ ।” 

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेका रुबियोले प्रगतिबारे सतर्कता व्यक्त गर्दै भने, “हामी अझै शान्ति सम्झौताको नजिक छैनौँ, तर त्यसतर्फ प्रगति भएको छ ।”

भूमि सट्टापट्टाको चर्चा
शिखर सम्मेलनपछि युरोपेली सहयोगीसँगको कुराकानीमा ट्रम्पले पुटिनले डोनबास क्षेत्रका डोनेत्स्क र लुहान्स्क रुसले चाहेको पुनः दोहोर्‍याएको बताए । ट्रम्पले यो स्वीकार गर्छन् वा गर्दैनन् भन्ने स्पष्ट छैन ।

“डोनेत्स्कको विषयमा महत्त्वपूर्ण छलफल हुनेछ र यो सोमबार विस्तृत रूपमा चर्चा हुनेछ,” विटकोफले भने ।

जेलेन्स्कीले रुसले पूर्ण रूपमा कब्जा गर्न नसकेको डोनबास क्षेत्र छाड्नुपर्ने पुटिनको माग अस्वीकार गरेका छन् । ब्रसेल्समा उनले भने, “भूमिसम्बन्धी कुनै पनि वार्ता हालको युद्धरत सीमारेखामा आधारित हुनुपर्छ । युरोपेलीले पनि यो कुरालाई समर्थन गर्छन् । युक्रेनको संविधानले भू–भाग छाड्न वा सट्टापट्टा गर्न सम्भव छैन ।” एजेन्सीको सहयोगमा 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्