
खाँदबारी (संखुवासभा) । संखुवासभाको खाँदवारी नगरपालिका–९, तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा तीनजना घाइते भएका छन् ।
प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको बलेरो जीप दुर्घटना हुँदा खाँदवारी नगरपालिका–९ का रमेश राई, मकालु गाउँपालिका–५ का चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ढोकरबहादुर पाण्डे घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले धर्मदेवी नगरपालिका–८, सूर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएर नदीमा खसेको जानकारी आएको बताए ।
गाडी नदीमा डुबेकाले झिक्ने अवस्था नरहेको र घाइते तीनैजनाको उद्धार गरेर मनकामना अस्पताल तुम्लिङटारमा उपचार भइरहेको उनले जानकारी दिए । रासस