
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धमा यू–टर्न गर्ने संकेत देखाएका छन् । उनले चिनियाँ वस्तुमा लागु भएको उच्च आयात कर उल्लेखनीयरूपमा घट्ने तर घटेर शून्य भने नहुने बताएका छन् ।
मंगलबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले गरेका यी टिप्पणीले गत केही हप्तादेखि ट्रम्पले चीनविरुद्ध लिएको कडा रबैया कम गर्ने संकेत गरेको सीएनएनले जनाएको छ ।
अमेरिकाले यसअघि चीनविरुद्ध आयात कर आश्चर्यजनकरूपमा १४५ प्रतिशत पुर्याएको थियो ।
ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारसँगको प्रश्नोत्तर सत्रमा ट्रम्पले १४५ प्रतिशत आयात कर एकदम धेरै भएको बताए । "यो त्यति धेरै हुनुहुँदैन । यो अब त्योभन्दा धेरै तल हुनेछ । यो उल्लेखनीयरूपमा घट्नेछ । तर, शून्य हुने छैन,” उनले भनेका छन् ।
यसअघि, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उच्च करका दरका कारण अमेरिका र चीनबीच व्यापार बन्द भएको बताएका थिए । उनको भनाइपछि ट्रम्पको भनाइ आएको हो ।
जेपी मोर्गन चेसले आयोजना गरेको एक निजी लगानी सम्मेलनमा अर्थमन्त्री बेसेन्टले चीनसँगको व्यापार युद्धलाई निरन्तरता दिन नसकिने र निकट भविष्यमा यो कम हुने अपेक्षा गरेको बताएका थिए ।
बेसेन्टले लगानीकर्तालाई अमेरिका र चीनबीच व्यापारिक सम्बन्धविच्छेद सट्टामा व्यापारको पुनःसन्तुलन कायम गर्ने लक्ष्य रहेको बताएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।