
काठमाडौं । फ्रान्सको लिग ‘लिग वान’मा रेफ्रीमाथि सिक्का प्रहार गरेको आरोपमा एकजना दर्शक पक्राउ परेका छन् ।
आइतबार फ्रेन्च ‘लिग वान’अन्तर्गत सेन्ट एटिएन्ट र ओलम्पिक लियोनबीचको खेलमा एकजना दर्शकले सहायक रेफ्रीमाथि सिक्का प्रहार गरेका थिए । ती व्यक्तिको परिचय खुलाइएको छैन ।
“ती व्यक्तिलाई खेलपछि मैदानबाट बाहिर आएपछि प्रशासनसँगको समन्वयमा पक्राउ गरिएको हो । हाल उनी प्रहरी अनुसन्धानमा छन्,” घरेलु टिमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “एटिएन्टले कारबाहीस्वरूप ती व्यक्तिविरुद्ध मुदा दर्ता गर्नेछ । यस्ता आपत्तिजनक काम गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन क्लब गम्भीररूपमा लाग्नेछ ।”
खेलको ४४औँ मिनेटमा रेफ्रीमाथि सिक्का प्रहार भएको थियो । सिक्का लागेपछि उनले टाउको समातेका थिए । रेफ्रीमाथि भएको सिक्का प्रहारपछि खेल ४० मिनेट रोकिएको थियो ।
खेलमा घरेलु टोलीले पाहुना टोली लियोनलाई २–१ ले पराजित गरेको थियो ।